विराटनगर, २१ असोज
नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा (एमाले) का युवा नेता पर्शुराम बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले एमालेका शीर्ष नेतामाथि प्रतिशोधको राजनीति गर्न खोजे कठोर प्रतिकार हुने चेतावनी दिनुभएको छ।

अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमार्फत् स्ट्याटस लेख्दै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको म्यान्डेट पाएको भए पनि अब त्यसबाट बिचलित भई ‘प्रतिशोध साँध्ने अभियान’ चलाए अर्को जनविद्रोह हुने उल्लेख गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, “सरकारले आफ्नो कर्तव्य बिर्सेर केपी शर्मा ओलीलगायत नेतामाथि धरपकड गर्ने तयारी गर्दैछ भने देश र जनताको तर्फबाट अब विद्रोह हुनेछ।”

गत राति प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग नेताहरूलाई पक्राउ गर्ने विषयमा छलफल भएको समाचारप्रति लक्षित गर्दै बस्नेतले सो कदम सुदन गुरुङ नेतृत्वको ‘जेन-जी आन्दोलन’ अपहरणकर्ताको लहडमा आधारित भएको आरोप लगाउनुभएको छ। उहाँले सरकारको यस्तो कदमले लोकतान्त्रिक शक्तिहरूलाई चुनौती दिने चेतावनी दिनुभएको छ।

बस्नेतले आफ्नो वक्तव्यमा लेख्नुभएको छ, “हामी पर्ख र हेरको नीतिमा छौं, तर देश, लोकतन्त्र र जनताको आवाज दवाउने खेल भयो भने चुप लागेर बस्ने छैनौं।” उहाँले खेलकुद महासङ्घ र नेपाली युवाहरू तयारी अवस्थामा रहेको भन्दै सरकारले जिम्मेवारीपूर्वक निर्वाचनको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष बस्नेतले आगामी निर्वाचन नै लोकतान्त्रिक अभ्यासको मूल आधार भएको स्मरण गराउँदै सरकारले प्रतिशोधको राजनीतिलाई प्राथमिकता दिए जनभावनाको ठेस पुग्ने र राजनीतिक संकट गहिरिने बताउनुभयो। उहाँले भने, “निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्नु सरकारको कर्तव्य हो, प्रतिशोध साँध्ने नियतले देशमा अस्थिरता ल्याउने काम भयो भने यसको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ।”

बस्नेतको उक्त अभिव्यक्तिलाई एमालेले सरकारविरुद्धको प्रतिकारको संकेतका रूपमा लिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। एमालेका विभिन्न तहका युवा संगठनहरूले समेत बस्नेतको चेतावनीलाई समर्थन गर्दै ‘कार्यक्रम र आन्दोलनको तयारी’ सुरु गर्ने संकेत दिएका छन्।

यससँगै एमाले नेतृत्वको युवा तह एक्सन मोडमा जाने तयारीमा रहेको देखिन्छ। पार्टी स्रोतका अनुसार, सरकारले पार्टीका नेतामाथि कुनै कारबाही गरे तत्क्षण देशव्यापी आन्दोलन घोषणा गर्ने रणनीति बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *