बिर्तामोड, झापा
बिर्तामोड चोकमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुर्गा मन्दिरलाई ट्राफिक व्यवस्थापनसम्बन्धी चुनौतीका कारण स्थानान्तरण गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन परिसरमा पुनःस्थापना गरिएको छ। हाइवेको भौतिक संरचना विस्तार, बढ्दो सवारी सञ्चार तथा सडक सुरक्षासम्बन्धी आवश्यकता पूरा गर्न मन्दिरलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
मन्दिर पुनःस्थापनाका लागि दाता जयनारायण ढुङ्गाना र अन्जना ढुङ्गानाको प्रमुख आर्थिक सहयोग रहेको छ। वर्षौंदेखि हाइवे किनारमा रहेको मन्दिर ट्राफिक सञ्चालनमा अवरोध पर्ने, दुर्घटनाको जोखिम बढ्ने तथा संरचनागत जोखिम बढ्दै गएपछि ट्राफिक प्रहरीको अनुरोध र समुदायको सहमतिमा मन्दिर स्थानान्तरणको तयारी अघि बढाइएको थियो। अन्ततः ट्राफिक कार्यालय नव निर्मित भवन परिसरमा सुरक्षित वातावरणमा मन्दिर पुनःनिर्माण गरिएको हो।
मन्दिर पुनःस्थापनाको अवसरमा एक विशेष शोभा यात्रा तथा सांस्कृतिक परिक्रमा कार्यक्रम आयोजना गरिएको थियो। दाता ढुङ्गाना परिवारलाई सम्मानस्वरूप रथमा राखेर बिर्तामोड बजार परिक्रमा गराइएको थियो। धार्मिक गीत–संगीत, बाजागाजा र भक्तजनहरूको उत्साहपूर्ण सहभागितासहितको परिक्रमा बिर्तामोड बजारको प्रमुख स्थानहरू हुँदै सम्पन्न गरिएको थियो। कार्यक्रमले बिर्तामोडको सांस्कृतिक वातावरण झनै जीवन्त बनाएको सहभागीहरूले बताए।
सो परिक्रमा कार्यक्रम वडा सदस्य, स्थानीय अगुवाहरू, व्यापारी, विभिन्न सङ्घ–सङ्गठनका प्रतिनिधि तथा धार्मिक श्रद्धालुहरूको उपस्थितिमा सम्पन्न भएको थियो। परिक्रमा टोलीमा इटहरीका प्रमुख दीपक गिरीसमेत सहभागी हुनुहुँदै कार्यक्रमलाई सुदृढ नेतृत्व प्रदान गरिएको थियो। गिरीसहितका अगुवाहरू र बिर्तामोडका वरिष्ठ नागरिकहरूको अगुवाइमा सो परिक्रमा गराइएको थियो।
उनले मन्दिर पुनःस्थापना कार्य धार्मिक मात्र नभई सामाजिक तथा ट्राफिक सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण रहेको बताउँदै स्थानीय समुदायको सक्रियताप्रति कृतज्ञता व्यक्त गरेका थिए। सहभागीहरूले मन्दिरलाई अझ सुव्यवस्थित रूपमा संरक्षण, व्यवस्थापन तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने कुरा पनि बताएका थिए।
परिक्रमा तथा शुभकामना आदान–प्रदान कार्यक्रमपछि दुर्गा मन्दिरलाई साँझ वैदिक विधिअनुसार पूजा, प्रार्थना तथा मन्त्रोच्चारणसहित नयाँ ट्राफिक प्रहरी भवनमा विधिवत् स्थापना गरिएको थियो। भक्तजनहरूले नयाँ स्थानमा स्थापित मन्दिरले धार्मिक आस्था, सामाजिक समन्वय र समुदायिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
ट्राफिक प्रहरी कार्यालयका अनुसार हाइवे व्यवस्थापन, सवारी सञ्चालन तथा आपत्तिजनक दुर्घटना न्यूनीकरणका लागि मन्दिर स्थानान्तरण अत्यावश्यक थियो। नयाँ स्थान सुरक्षित, प्रशस्त ठाउँयुक्त तथा धार्मिक क्रियाकलापका लागि उपयुक्त भएकाले मन्दिर अब व्यवस्थितरूपमा सञ्चालन हुने ट्राफिक कार्यालयले जनाएको छ।
स्थानीयवासी तथा व्यापारीहरूले मन्दिर पुनःस्थापनामा दाता ढुङ्गाना परिवारको योगदानको उच्च प्रशंसा गर्दै सार्वजनिक सम्पदा संरक्षणमा समुदायको साझा भूमिकाले उदाहरण स्थापित गरेको बताएका छन्। नयाँ स्थानमा मन्दिर स्थापनासँगै बिर्तामोड बजारको धार्मिक तथा सांस्कृतिक वातावरण अझ सुदृढ बन्ने अपेक्षा गरिएको छ।
