राजकुमार ओली मेचीनगर झापा
छुर्पी व्यवसाय नेपालको निर्यातमुखी उद्योगका रूपमा स्थापित हुँदै जाँदा कोशी प्रदेश यसको केन्द्र बिन्दुका रूपमा उभिएको छ । दुधजन्य उत्पादनमा आधारित छुर्पी व्यवसायले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय पहिचान बनाएको छ, जसको मुख्य आधार कोशी प्रदेश नै बनेको छ ।
नेपाल छुर्पी व्यवसायी संघको वार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले कोशी प्रदेश बिना छुर्पी उद्योगको विकास सम्भव नरहेको स्पष्ट पारे । शनिबार मेचीनगर–१० धुलाबारीस्थित होटल रोयल निर्माणको सभाहलमा सम्पन्न साधारणसभामा व्यवसायी नेताहरूले कोशी प्रदेशमा उत्पादित छुर्पीले नै अन्तर्राष्ट्रिय बजारमा ‘हिमालयन डग च्यु’ का रूपमा नेपालको ब्रान्ड स्थापित गराएको बताए ।
संघका अध्यक्ष रेशमबहादुर पोखरेलका अनुसार हाल वार्षिक करिब ५ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भइरहेको छ, जसमा कोशी प्रदेशको हिस्सा करिब ८० प्रतिशत रहेको छ । “कोशी प्रदेशमा दुध उत्पादन, कच्चा पदार्थको उपलब्धता, दक्ष जनशक्ति र उद्यमशील वातावरणका कारण छुर्पी उद्योग फस्टाएको हो,” उनले भने ।
अमेरिकामा कुकुरको आहारका रूपमा प्रयोग हुने ‘हिमालयन डग च्यु’का रूपमा नेपाली छुर्पी अत्यन्त लोकप्रिय बनेको छ । पोखरेलका अनुसार अमेरिका मात्र होइन, युरोपेली मुलुकहरूमा पनि यसको माग तीव्र रूपमा बढिरहेको छ । युरोप, चीन र भारतमा समेत निर्यात विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
छुर्पी व्यवसायी संघलाई सरकारले उत्कृष्ट निर्यात व्यवसायीको रूपमा सीआईपी (CIP) मान्यता प्रदान गरिसकेको छ, जसले यो व्यवसायको अन्तर्राष्ट्रिय विश्वसनीयता थप मजबुत बनाएको व्यवसायीहरूको भनाइ छ ।
साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनबारे पनि व्यापक चर्चा भयो । निर्वाचन आगामी चैत २८ र २९ गते हुने तय भएको छ । महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल वरिष्ठ उपाध्यक्षका दावेदारका रूपमा अघि बढिरहेका छन् ।
कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । यस्तै, नरेन्द्रकुमार खड्का र उमेश डालमियाले उपाध्यक्ष, कमला श्रेष्ठले महिला उपाध्यक्ष तथा लिलेन्द्र प्रधानले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाए ।
व्यवसायी नेताहरूले कामचलाउ सरकार र राजनीतिक नेतृत्वको अस्थिरताका कारण कर, भ्याट, भन्सारलगायतका समस्या समाधान हुन नसकेको गुनासो गरे । साथै महासंघमा आबद्ध १८ संघ–संस्थालाई सदस्य बन्न रोकिएको विषय पनि उठाइएको थियो । प्रमुख अतिथि ढकालले ती समस्या निर्वाचनअघि समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छुर्पी व्यवसायले कोशी प्रदेशको अर्थतन्त्रलाई मात्रै होइन, नेपालकै निर्यात संरचनालाई नयाँ उचाइमा पुर्याइरहेको व्यवसायीहरूको निष्कर्ष थियो ।
