बिर्तामोड २५ पुष(पूर्व खबर)

पछिल्लो समय राजनीतिमा नयाँ अनुहारका रूपमा उदाएकी ज्वाला संग्रौला नागरिकता र समानुपातिक प्रतिनिधित्वको विषयलाई लिएर चर्चामा आएकी छन् ।  उनको नाम सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक बहसको विषय बनेको हो ।
ज्वाला संग्रौलाको जन्म पाँचथरमा भएको हो । उनी हुर्किएकी झापा जिल्लामा हुन् भने नागरिकता पनि पाँचथरबाट लिएकी थिइन् । लामो समय जापान बसोबास गरेकी उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । हालको स्थायी बसोबास झापाको बिर्तामोड नगरपालिका–३ मा रहेको बताइन्छ ।
तर उनी चर्चामा आउनुको मुख्य कारण भने नागरिकता परिवर्तनसँग जोडिएको विषय हो । स्रोतका अनुसार संग्रौलाले आफ्ना श्रीमानको नागरिकता रहेको जिल्ला अछामबाट नागरिकताको प्रतिलिपि प्राप्त गरेकी छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ‘पिछडिएको जिल्ला’ बाट प्रतिनिधित्व सुनिश्चित गर्न श्रीमानको नाम जोडेर अछामबाट नागरिकताको प्रतिलिपि लिएको विषय बाहिरिएपछि यसले राजनीतिक तथा कानुनी बहस जन्माएको हो ।
राजनीतिमा नयाँ दल र नयाँ भूमिकाबाट प्रवेश गरेकी संग्रौलाको यो कदमलाई कतिपयले कानुनी प्रक्रिया भित्रै रहेर गरिएको रणनीति भनेका छन् भने कतिपयले नैतिकता र समानुपातिक प्रतिनिधित्वको मर्ममाथि प्रश्न उठाएका छन् । समानुपातिक प्रणालीले वास्तवमै पिछडिएका क्षेत्र र समुदायलाई प्रतिनिधित्व गराउने उद्देश्य राखेको भए पनि यस्ता अभ्यासले प्रणालीको दुरुपयोग भइरहेको आलोचना समेत हुन थालेको छ ।
सामाजिक सञ्जाल र समाचारमा उनिको चर्चा चुलिएपछि  “बिर्तामोड–३ की बासिन्दा भएर अछामबाट नागरिकताको आधारमा कसरी प्रतिनिधित्व दाबी गरियो ?” भन्ने प्रश्नले चर्चा पाएको छ । यस विषयमा सरोकारवालाहरूले निर्वाचन प्रणाली, नागरिकता ऐन तथा समानुपातिक प्रतिनिधित्वको मापदण्ड पुनः स्पष्ट र कडाइका साथ कार्यान्वयन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *