पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि ग्यास सिलिन्डर विस्फोट हुँदा बेहुला–बेहुलीसहित कम्तीमा आठ जनाको मृत्यु भएको छ । घटनामा सात जना गम्भीर घाइते भएका छन् ।
प्रहरी तथा सरकारी अधिकारीहरूका अनुसार आइतबार बिहान सहरको केन्द्रमा रहेको आवासीय क्षेत्रमा रहेको उक्त घरमा अचानक विस्फोट भएको हो । विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलहा–दुलहीसहित पाहुनाहरू सोही घरमा सुतेका बेला विस्फोट भएको इस्लामाबाद प्रहरीले जनाएको छ । विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै आठ जनाको ज्यान गएको हो ।
विस्फोटमा परी गम्भीर घाइते भएका सात जनालाई तत्काल नजिकैका अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । घटनापछि सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सञ्चालन गरेका थिए । विस्फोटको असर नजिकैका केही घरहरूमा समेत परेको बताइएको छ ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा घटनास्थल आवासीय क्षेत्र भएकाले क्षतिको जोखिम बढेको उल्लेख गरिएको छ । विस्फोटको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक रूपमा ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई विस्फोट भएको आशङ्का गरिएको छ ।
एक सरकारी प्रशासक साहिबजादा युसुफले आइतबार बिहान घटनाको जानकारी पाएलगत्तै सम्बन्धित सबै निकायलाई सतर्क गराइएको र घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिइने पनि बताउनुभयो ।
प्रधानमन्त्री शाहबाज सरिफले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिनुका साथै घटनाबारे पूर्ण र निष्पक्ष अनुसन्धान गर्न आदेश दिनुभएको छ ।
पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन् । यस्ता सिलिन्डरमा हुने ग्यास चुहावट र सुरक्षा मापदण्डको पालना नहुनुका कारण यसअघि पनि घातक दुर्घटनाहरू हुँदै आएका छन् । प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ ।
