राजकुमार ओली, बिर्तामोड २६ पुस (रासस)
३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–१० स्थित ऐतिहासिक चन्द्रगढ क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
चारआली ब्यारेकस्थित श्री अरिदमन गणको अगुवाइमा  सञ्चालन भएको सरसफाइ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय पत्रकार, एनसीसी एलुम्नाई एसोसिएसन झापाका विद्यार्थी तथा स्थानीयवासी गरी जम्मा १ सय ८५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा श्री अरिदमन गणका सकलदर्जा ७०, नेपाल प्रहरी २०, सशस्त्र प्रहरी बल नेपाल २०, एनसीसी एलुम्नाई एसोसिएसन झापाका विद्यार्थी २० र स्थानीयवासी ५० जना सहभागी थिए ।
सरसफाइ कार्यक्रममा श्री अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापा, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल,प्रमुख जिल्ला अधिकारी शिव राम गेलाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य राजकुमार ओली,विभिन्न सुरक्षा निकायका झापाका प्रमुखहरू तथा भद्रपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष काजीबहादुर खड्का समेतको सरसफाईमा सहभागिता  रहेको थियो । सहभागीहरूले चन्द्रगढ क्षेत्रको झाडी सफा गर्ने, फोहोर व्यवस्थापन गर्ने तथा ऐतिहासिक संरचनाको वरपर सरसफाइ गरेका थिए ।
स्थानीयका अनुसार चन्द्रगढ दोस्रो विश्वयुद्धका समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा सेनाको एक टुकडी तैनाथ गर्न गढी निर्माण गरिएको थियो । यसका साथै १८औँ शताब्दीमा किराँती समुदायले निर्माण गरेको यस ऐतिहासिक गढकै नामबाट चन्द्रगढी शहरको नामकरण भएको चन्द्रगढी सामुदायिक वनका सचिव कमला शिवाकोटीले बचाइन्।

झापा जिल्लाको एकमात्र ऐतिहासिक गढका रूपमा रहेको चन्द्रगढ सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
कार्यक्रमका वक्ताहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपालीहरूलाई राष्ट्रिय एकता, इतिहास संरक्षण र देशप्रेमको भावना सुदृढ गर्न प्रेरणा दिने बताएका थिए । यस्ता सरसफाइ तथा संरक्षणका कार्यक्रमले ऐतिहासिक सम्पदाको जगेर्ना गर्न र भावी पुस्तामा राष्ट्रिय पहिचानबारे चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।
बृहत् सरसफाइ कार्यक्रमले चन्द्रगढको संरक्षण तथा सम्बर्द्धनमा टेवा पुग्नुका साथै राष्ट्रिय एकताको भावना थप मजबुत हुने अपेक्षा गरिएको चन्द्रगढी सामुदायिक वनका अध्यक्ष अनुज खतिवडाले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *