काँकरभिट्टा ।
काँकरभिट्टामा सम्पन्न इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा तराई प्रेस क्लब दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै विजेता तराई प्रेस क्लबले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको भद्रपुर प्रेस क्लबले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको दोस्रो हाफमा तराई प्रेस क्लबले दबाब सिर्जना गरेको थियो । खेलको ३२औँ मिनेटमा प्रवेश भुजेलले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाए । त्यसपछि ४४औँ मिनेटमा दावा लामाले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।
फाइनल खेलमा अन्तिम गोल गरेका दावा लामालाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो । उनले नगद १ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गरे ।
प्रतियोगिताभरिको उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल घोषित भए । त्यस्तै उत्कृष्ट फर्वार्ड आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक र उत्कृष्ट गोलकिपर भद्रपुरकै सुजक राउत घोषित भए ।
त्यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि विजेता तराई प्रेस क्लबका प्रवेश भुजेलले जिते । विधागत रूपमा उत्कृष्ट घोषित सबै खेलाडीलाई जनही नगद १ हजार ५ सय रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो ।
प्रेस क्लब मेचीनगरद्वारा आयोजित दुईदिने प्रतियोगिताको संरक्षक मेचीनगर नगरपालिका रहेको थियो । प्रतियोगिताको प्रायोजन होटल मेची क्राउन र इष्ट होराइजन अंग्रेजी मावि, धुलाबारीले संयुक्त रूपमा गरेका थिए ।
मिडिया कपमा भारतका २ र नेपालका ६ गरी कुल ८ वटा प्रेस क्लबको सहभागिता रहेको थियो ।
समापन समारोहमा आयोजकका सचिव प्रविण अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए भने खेल संयोजक खगेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए । समारोहको अध्यक्षता प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए ।
