राजकुमार ओली १माघ,बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झापा गोल्डकप आयोजनाको टोलीबीच आज भेटघाट भएको छ । झापा गोल्डकपका अध्यक्ष केदार गिरीको नेतृत्वमा रहेको टोलीले अध्यक्ष ओलीसँग भेट गरी प्रतियोगिताको तयारी र सहयोगका विषयमा छलफल गरेको हो ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ गतेदेखि सञ्चालन हुन गइरहेको झापा गोल्डकप फुटबल प्रतियोगिताको स्वर्गीय ‘बिनोद बस्नेत स्मृति’ सातौँ संस्करणको सन्दर्भमा कुराकानी गर्न भेटघाट गरिएको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई भव्य र सफल बनाउने विषयमा अध्यक्ष ओलीसँग सकारात्मक छलफल भएको छ ।
“उहाँ झापाबासी हुनुहुन्छ, साथै पूर्वप्रधानमन्त्रीका रूपमा खेलकुद क्षेत्रप्रति उहाँको योगदान र चासो महत्वपूर्ण छ,” अध्यक्ष गिरीले भने, “प्रतियोगिताको तयारी, व्यवस्थापन र समग्र सफलताका विषयमा आवश्यक सहयोग र सुझावका लागि कुराकानी गरेर फर्किएका छौँ ।”
भेटघाटका क्रममा झापा गोल्डकपले जिल्लामा फुटबलको विकास, युवालाई खेलतर्फ आकर्षित गर्ने र राष्ट्रियस्तरका खेलाडी उत्पादनमा प्रतियोगिताले खेलेको भूमिकाबारे जानकारी गराइएको थियो । साथै प्रतियोगिताले झापाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको थियो ।
अध्यक्ष ओलीले झापा गोल्डकपले नेपाली फुटबलमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै प्रतियोगिता सफल होस् भन्ने शुभकामना व्यक्त गरेको आयोजकका राजु घिमिरेले बताएका छन्। उनले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ डोर्याउने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट गर्न झापा गोल्डकपका अध्यक्ष केदार गिरीसँगै पूर्वमन्त्री अग्नि खरेल, झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरेलगायतको टोली भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेको थियो ।
झापा गोल्डकप नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगितामध्ये एकका रूपमा परिचित छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले राष्ट्रिय तथा विदेशी क्लबहरूको सहभागितासँगै दर्शकको उल्लेखनीय उपस्थिति आकर्षित गर्दै आएको छ ।
