राजकुमार ओली मेचीनगर, माघ (पूर्व खबर)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ। प्रमुख पाँच राजनीतिक दलले आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन् भने अघिल्लो निर्वाचनमा विजयी नेपाली कांग्रेस यसपटक उम्मेदवार चयनमा अझै अन्योलमै देखिएको छ।
पाँच दलका उम्मेदवार
झापा–१ बाट नेकपा (एमाले) ले रामचन्द्र उप्रेती, नेपाल कम्युनिस्ट पार्टीले अशेष घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रोफेसर हेमराज कार्की र श्रम संस्कृति पार्टीले केवलराम राईलाई उम्मेदवार बनाएका छन्।
यसअघि सोही क्षेत्रबाट नेपाली कांग्रेसका तत्कालीन महामन्त्री तथा हालका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको थियो। तर शर्मा यसपटक चुनाव नलड्ने निर्णयमा पुग्नुभएको छ। कांग्रेस क्षेत्रीय कार्यसमितिले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पाँच जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाए पनि उम्मेदवार टुङ्गो लागिसकेको छैन।
भूगोल र सामाजिक संरचना
झापा क्षेत्र नं.१ पूर्वी सीमावर्ती क्षेत्र भएकाले राजनीतिक र सामाजिक रूपमा संवेदनशील मानिन्छ। मेचीनगर नगरपालिका, बाहुनडाँगी, धुलाबारी, काँकरभिट्टा, जामिरगढी, दुवागढी चन्द्रगढी शान्तिनगर लगायत क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्र भारतसँग सीमा जोडिएको व्यापारिक र आवागमनको मुख्य नाका हो।
यस क्षेत्रको जनसांख्यिक बनावट विविध छ—लिम्बु, राई, मगर, तामाङ, बाहुन, क्षेत्री र मधेसी समुदायको मिश्रित बसोबास छ। सीमा व्यापार, रोजगारी, बसाइँसराइ र शहरीकरणले यहाँको मतदाताको सोचलाई परम्परागतभन्दा फरक बनाएको विश्लेषकहरू बताउँछन्।
राजनीतिक रूपमा यो क्षेत्र कहिले कांग्रेस, कहिले एमालेको प्रभावमा रहँदै आएको ‘स्विङ’ क्षेत्र मानिन्छ। पछिल्लो समय स्वतन्त्र र नयाँ दलप्रति आकर्षण बढ्दै गएको देखिन्छ।
एमाले उम्मेदवार रामचन्द्र उप्रेती
एमालेबाट उम्मेदवार बनेका रामचन्द्र उप्रेती लामो समयदेखि पार्टी संगठनमा सक्रिय नेता हुन्। मेचीनगर क्षेत्रमा जनआधार बनाएका उप्रेती पार्टीभित्र इमानदार, कार्यकर्तामैत्री र संगठनमुखी नेताका रूपमा चिनिन्छन्। नेपालकै सबभन्दा ठूलो मध्येको सहकारी एनएमसी साकोसका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका समेत सञ्चालक भएर काम गरेका उप्रेती भुई मान्छेको पहिचानबाट उठेर अहिले सफल व्यवसायीको पहिचानमा अगाडि बढेका छन्।
उप्रेती पूर्व विद्यार्थी नेता हुँदै स्थानीय तहको राजनीतिमा सक्रिय रहँदै आएका छन्। पार्टीका विभिन्न जिम्मेवारी सम्हालिसकेका उनले विकास, पूर्वाधार र सीमा व्यवस्थापनका मुद्दालाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। एमालेले झापा–१ लाई रणनीतिक क्षेत्र मानेर बलियो संगठन भएको उम्मेदवार अघि सारेको जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टीका अशेष घिमिरे
अशेष घिमिरे वाम आन्दोलनसँग जोडिएको परिचित नाम हो। वैचारिक रूपमा कडा र संगठनात्मक रूपमा जुझारु नेताका रूपमा चिनिने घिमिरेले युवा र वैकल्पिक राजनीति चाहने मतदातालाई लक्षित गर्दै उम्मेदवारी दिएका छन्।
उनी विभिन्न आन्दोलन र राजनीतिक अभियानमा सक्रिय रहँदै आएका छन्। सामाजिक न्याय, भ्रष्टाचारविरोध र प्रणाली सुधारका मुद्दामा मुखर रहेका घिमिरेको उम्मेदवारीले वाम मतमा केही विभाजन ल्याउने आँकलन गरिएको छ।
रास्वपाकी निशा डाँगी
रास्वपाबाट उम्मेदवार बनेकी निशा डाँगी झापा–१ मा नयाँ तर आकर्षक अनुहारका रूपमा हेरिएकी छन्। युवा, शिक्षित र वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने डाँगीले विशेषगरी शहरी मतदाता र पहिलोपटक मतदान गर्ने वर्गलाई लक्षित गरेकी छन्।
सामाजिक अभियन्ताका रूपमा चिनिने उनी पारदर्शिता, सुशासन, महिला सहभागिता र स्थानीय विकासका मुद्दा लिएर मैदानमा उत्रिएकी छन्। रास्वपाको पछिल्लो लोकप्रियताले झापा–१ मा प्रतिस्पर्धा थप रोचक बनाएको छ। नेपालकै सबभन्दा कान्छी सांसदको पहिचान बनाएकी निशा स्पष्ट वक्ताको रुपमा पहिचान बनाएकी युवा हुन् ।
राप्रपाका हेमराज कार्की
राप्रपाका उम्मेदवार प्रोफेसर हेमराज कार्की बाहुनडाँगी निवासी शिक्षाविद् हुन्। राप्रपाका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष नरेन्द्रकुमार खड्काका अनुसार कार्कीलाई वैचारिक रूपमा स्पष्ट र शिक्षित नेतृत्वका रूपमा अघि सारिएको हो। नेपालका विभिन्न अभियानमा जोडिएका कार्की नेपालको भूगोलसँग जोडिएर अभियन्ताका पहिचान बनाएका व्यक्ति हुन्।

नेपाली कांग्रेसबाट सोमबारसम्म नामावली प्रकाशन गरिने तयारी गरिए पनि खेलप्रेमी पंकज विक्रम नेम्बाङ र अधिवक्ता अशोक पोख्रेल एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशव पाण्डे मध्यबाट एकजना आउने करिब करिब निश्रित भएको देखिएको छ
चुनावी माहोल कस्तो ?
झापा–१ मा यसपटक त्रिपक्षीयभन्दा पनि बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ। एमाले आफ्नो परम्परागत संगठनमा भर परिरहेको छ भने रास्वपाले परिवर्तनको नारामा मत तान्ने प्रयास गरिरहेको छ। कांग्रेस उम्मेदवार टुङ्गो नलाग्दासम्म अन्य दलले प्रचार तीव्र बनाइरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार झापा–१ मा
शहरी मत निर्णायक बन्ने,
वाम मत विभाजित हुने सम्भावना रहने,
कांग्रेसको उम्मेदवार चयनले अन्तिम समीकरण बदल्न सक्ने
देखिएको छ।
सीमा नाका, व्यापार, युवा रोजगारी, सुकुम्बासी, शिक्षा र पूर्वाधार विकास यस क्षेत्रका मुख्य चुनावी मुद्दा बनेका छन्।
फागुन २१ नजिकिँदै जाँदा झापा–१ को चुनावी प्रतिस्पर्धा अझ तात्ने संकेत देखिएको छ। अहिलेका लागि भने यो क्षेत्र सबै दलका लागि प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ।

हिजोका दिनमा माओवादीबाट चुनावमा होमिन आएका राम कार्की पार्थ ले विजयी भएर फर्किएपछि स्थानीय भूगोलमा काम नगरेको आरोप लागिरहेको समयमा मेचीनगरका स्थानीयहरूको चुनावी माहोलले यो क्षेत्र अझ रोमाञ्चक र कौतुहलपूर्ण बनाएको देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *