बिर्तामोड, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयनको तयारीस्वरूप आज झापा आउँदै हुनुहुन्छ ।
पार्टी केन्द्रीय सदस्य  गोविन्द थापाका अनुसार अध्यक्ष ओली बिहान १०:२५ बजे काठमाडौंबाट उड्ने जहाजमार्फत भद्रपुर विमानस्थल अवतरण गर्नुहुने कार्यक्रम छ । उहाँले भोलि हुने प्रतिनिधिसभा सदस्यको मनोनयनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गर्ने तयारी गर्नुभएको छ ।
झापा आइपुगेपछि अध्यक्ष ओलीले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका नेता–कार्यकर्तासँग छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ । भद्रपुरमै क्षेत्र नं. १ का अगुवा तथा कार्यकर्तासँग पछिल्लो राजनीतिक अवस्था र निर्वाचन तयारीका विषयमा जानकारी लिनुहुने कार्कीले बताउनुभयो । त्यस्तै, क्षेत्र नं. ३ को अवस्थाबारे पनि भद्रपुरमै जानकारी लिने कार्यक्रम तय गरिएको छ ।
क्षेत्र नं. २ का नेता–कार्यकर्तासँग बिर्तामोडमा भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ भने क्षेत्र नं. ४ को निर्वाचन तयारीबारे सुरुङ्गामा जानकारी लिनुहुने जनाइएको छ । आफ्नो उम्मेदवारी क्षेत्र झापा–५ अन्तर्गत दमकमा भने स्थानीय नेता–कार्यकर्तासँग विशेष भेटघाट तथा रणनीतिक छलफल गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
यसैक्रममा अध्यक्ष ओलीले ‘जेनजी विध्वंस’का क्रममा जलाइएको दमकस्थित आफ्नै निजी निवासको निरीक्षणसमेत गर्नुहुने कार्यक्रम रहेको छ । सो घटनापछि पहिलोपटक उहाँ त्यहाँ पुग्न लाग्नुभएको एमाले स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीको आगमनसँगै झापामा एमालेको चुनावी गतिविधि तीव्र बन्ने अपेक्षा गरिएको छ । जिल्ला कमिटीले उहाँको स्वागतका लागि भद्रपुर विमानस्थलदेखि दमकसम्म विभिन्न स्थानमा कार्यक्रम तय गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *