कुमार ओली,भद्रपुर (झापा),
कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा नवोदित कानुन व्यवसायीहरूका लागि मस्यौदा लेखनसम्बन्धी एकदिने तालिम शनिबार झापाको भद्रपुरमा सम्पन्न भएको छ। व्यावहारिक कानुनी सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिममा झापा जिल्लाका विभिन्न क्षेत्रबाट आएका नवोदित कानुन व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
तालिम कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा झापा बार एशोसिएसनका सहसचिव एवम् झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले गर्नुभएको थियो भने सञ्चालन केन्द्रका सचिव अधिवक्ता नरेस खातीले गर्नुभएको थियो।
तालिम कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेल तथा अधिवक्ता बसन्त जोशीले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षकहरूले अदालतमा प्रयोग हुने निवेदन, फिरादपत्र, जवाफ, लिखत तथा अन्य कानुनी मस्यौदाहरू तयार गर्दा ध्यान दिनुपर्ने व्यावहारिक पक्षहरूबारे सहजीकरण गर्नुभएको थियो। साथै, कानुनी भाषा, संरचना, तथ्य प्रस्तुति र कानुनी तर्क निर्माणका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
प्रमुख अतिथि जिल्ला न्यायाधिवक्ता दिपेश शाहले नवोदित कानुन व्यवसायीहरूका लागि मस्यौदा लेखन अत्यन्त महत्वपूर्ण सीप भएको उल्लेख गर्दै यस्ता तालिमहरूले व्यावसायिक दक्षता बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा बोल्दै झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले अदालतको कार्यप्रणाली बुझ्दै गुणस्तरीय मस्यौदा लेखन गर्न सक्ने जनशक्ति उत्पादनमा यस्ता कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। यस्तै, झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतले कानुन व्यवसायमा प्रवेश गरेका नयाँ पुस्तालाई मार्गदर्शन गर्ने खालका तालिम निरन्तर आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले कानुनी शिक्षा र सचेतना विस्तार गर्ने उद्देश्यले कानुनी ज्ञान केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले केन्द्रले आगामी दिनमा पनि विभिन्न विषयगत तालिम, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एकदिने तालिम कार्यक्रममा २० जनाभन्दा बढी नवोदित कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।
कानुनी ज्ञान केन्द्र झापाको हालको कार्यसमितिमा अध्यक्षमा अधिवक्ता तारामणी सापकोटा, उपाध्यक्षमा अधिवक्ता तिलक अर्याल, सचिवमा अधिवक्ता नरेस खाती, सहसचिवमा अधिवक्ता अनु रावत, कोषाध्यक्षमा अधिवक्ता सुरज मैनाली तथा सदस्यहरूमा अधिवक्ता रुद्रमणी भट्टराई र अधिवक्ता हेमनारायण राजवंशी रहनुभएको छ।
केन्द्रले कानुनी पेशामा संलग्न व्यक्तिहरूको क्षमता अभिवृद्धि तथा आम नागरिकमा कानुनी चेतना विस्तार गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
