बिर्तामोड (रासस) — जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्। उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकताका साथ अघि बढाइएको स्पष्ट पारिन्।
मंगलबार जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक खड्काले हालै सरुवा भई झापामा जिम्मेवारी सम्हालेको उल्लेख गर्दै संगठनले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि प्रकारको कमजोरी हुन नदिइने बताइन्।
निर्वाचन सुरक्षाको तयारीबारे जानकारी दिँदै उनले सुरक्षालाई प्रभावकारी बनाउन सञ्चार माध्यमको भूमिका पनि महत्वपूर्ण हुने बताइन्। सुरक्षा संवेदनशीलता, विगतका घटनाक्रम तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्कनका आधारमा सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिइन्। कुनै उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा व्यवस्था मिलाइने उनले स्पष्ट गरिन्।
प्रहरी उपरीक्षक खड्काका अनुसार निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन जिल्लामा एक सय जना सुरक्षाकर्मी थप गरिएको छ। ती सुरक्षाकर्मीहरूलाई सडक, गाउँघर तथा संवेदनशील क्षेत्रहरूमा परिचालन गरिसकिएको छ। उनले थप सुरक्षाकर्मीको उपस्थितिलाई अनावश्यक शङ्काको रूपमा नलिन आग्रह गर्दै सबै सुरक्षाकर्मी निर्धारित सुरक्षा योजनाअनुसार परिचालित भइरहेको बताइन्।
नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्ति वरपर सुरक्षाकर्मी देखिनु संयोग मात्र हुनसक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा प्रदान गरिएको अर्थमा नबुझ्न उनले आग्रह गरिन्। आवश्यकताको आधारमा मात्र सुरक्षाकर्मी परिचालन गरिने उनको भनाइ छ।
पत्रकार भेटघाटका क्रममा प्रहरी उपरीक्षक खड्काले हराएका हतियारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिइन्। ती हतियारहरू कुनै पनि आपराधिक गतिविधिमा प्रयोग हुन नदिन खोजी कार्यलाई तीव्र बनाइएको उनले बताइन्।
उनले झापामा शान्ति सुव्यवस्था सुदृढ बनाउने, अपराध न्यूनीकरण तथा नियन्त्रण गर्ने कार्यलाई प्रहरीको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरिन्। साथै खुला सीमाका कारण हुनसक्ने चोरी निकासी, लागुऔषध ओसारपसार तथा मानव बेचबिखनजस्ता अवैध गतिविधि नियन्त्रण गर्नु पनि प्रहरीको महत्वपूर्ण दायित्व भएको बताइन्।
प्रहरी प्रशासन, स्थानीय निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमबीचको सहकार्यबाट मात्र शान्तिपूर्ण निर्वाचन सम्भव हुने भन्दै उनले सबै पक्षको सहयोगको अपेक्षा समेत व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *