भद्रपुर । ६४औँ नेपाल नर्सिङ दिवसको अवसरमा प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नर्सिङ समिति प्रादेशिक अस्पताल भद्रपुरको आयोजनामा बिहीबार अस्पताल परिसरमा गरिएको उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा १३ महिला र १२ पुरुष गरी जम्मा २५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको उद्घाटन अस्पतालका वरिष्ठ चिकित्सक डा. मनिष सुवेदीले गरेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै डा. सुवेदीले नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गरे । “नर्सबिना स्वास्थ्य प्रणालीको कल्पना गर्न सकिँदैन,” उनले भने, “उहाँहरूको सेवा, सहनशीलता र समर्पणकै कारण बिरामीले उपचारमा आत्मविश्वास पाउँछन् ।”
नर्सिङ समिति प्रादेशिक अस्पताल भद्रपुरकी अध्यक्ष अनिता दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालमा लामो समयदेखि सेवा गर्दै आएका स्वास्थ्यकर्मी विश्वेश्वरप्रसाद चौधरीलाई सम्मान गरिएको थियो । लामो समयको निष्ठावान् सेवाको कदर गर्दै दोसल्ला ओढाई सम्मान गरिएको हो ।
कार्यक्रमको सञ्चालन निरु कुँवरले गरेकी थिइन् भने रेनु मल्लिकले शाब्दिक स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदीसहित स्वास्थ्यकर्मी सीता भण्डारी, रञ्जना डाँगी, उपमा शिवाकोटी, कृष्णा सुवेदी, रोकाकुमारी शाहलगायतले नर्सिङ पेशा र दिवसको महत्वबारे धारणा राखेका थिए ।
नर्सिङ दिवसको महत्व
हरेक वर्ष मनाइने नेपाल नर्सिङ दिवसले नर्सहरूको योगदानको सम्मान गर्नुका साथै उनीहरूको पेशागत पहिचान, अधिकार र जिम्मेवारीबारे समाजलाई सचेत गराउने उद्देश्य राख्छ । बिरामीको प्रत्यक्ष स्याहार–सुसारदेखि उपचार प्रक्रियामा चिकित्सकसँग सहकार्य गर्ने कामसम्म नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ ।
विशेषगरी अस्पतालमा बिरामीसँग सबैभन्दा बढी समय बिताउने स्वास्थ्यकर्मी नर्स नै हुने भएकाले उनीहरूको व्यवहार, धैर्यता र संवेदनशीलताले बिरामीको मनोबलमा प्रत्यक्ष असर पार्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । नर्सिङ दिवसले नर्सहरूको सेवाभाव, संघर्ष र योगदानलाई उजागर गर्दै नयाँ पुस्तालाई यो पेशाप्रति आकर्षित गर्ने विश्वास गरिएको छ ।
नर्स सीता भण्डारी के भन्छिन्?
कार्यक्रममा मन्तव्य राख्दै नर्स सीता भण्डारीले नर्सिङ पेशा केवल रोजगारी मात्र नभई सेवाको भावनासँग जोडिएको पेशा भएको बताइन् । उनका अनुसार नर्सहरूले बिरामीको पीडा नजिकबाट बुझ्ने भएकाले उनीहरूको भूमिकामा संवेदनशीलता र मानवीयता अत्यन्त जरुरी हुन्छ ।
“नर्सिङ पेशा चुनौतीपूर्ण भए पनि सन्तोषजनक छ,” उनले भनिन्, “बिरामी निको भएर घर फर्कँदा पाइने खुशीले सबै थकान बिर्साइदिन्छ ।” उनले नर्सहरूको पेशागत सुरक्षा, तालिम र सम्मानमा राज्य र सम्बन्धित निकायले अझ ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।
नर्सिङ दिवसको अवसरमा रक्तदानजस्तो जीवनदायी कार्यक्रम आयोजना गर्नुले नर्सहरूको सामाजिक उत्तरदायित्व पनि झल्काउने भण्डारीको भनाइ थियो । “रक्तदानले कसैको जीवन बच्न सक्छ, यही भावनाले हामीलाई सेवामा अझ प्रेरित गर्छ,” उनले थपिन् ।
कार्यक्रमले नर्सिङ पेशाको महत्व उजागर गर्नुका साथै स्वास्थ्य क्षेत्रमा कार्यरत सबै पक्षबीच सहकार्य र सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो ।

लेखक -राजकुमार ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *