राजकुमार ओली बिर्तामोड, १६ माघ : बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ।
नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो।
वडाअध्यक्ष पौडेलले साविक चारपाने गाविसका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ हाल वडा नम्बर २ अन्तर्गत रहेकाले क्षेत्रफल, पूर्वाधार र जनसंख्याको दृष्टिले व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो। सोही आधारमा नयाँ वडा गठनको प्रस्ताव अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले साविक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २ तथा साविक वडा नम्बर ६, ७, ८ र ९ लाई वडा नम्बर ११ कायम गर्न प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको हो। हाल बिर्तामोड २ नम्बर वडाको सिमाना रामचोक को मोहन माया स्कुल हुँदै उत्तरमा अर्जुनधारा नगरपालिकाको सिमानासम्म पूर्वपश्चिम लोकमार्ग को घागराहा सम्म दक्षिणमा घाग्रा खोला हुँदै बेलडाँगी चैतुबारी हुँदै बिहीबारेसम्म पूर्व विराटपोखरको पोखरीको नजिक उमानाथ ओलीको घर हुँदै खुकुरी चोकको सिमानासम्म भएर ढुङ्गाना पार्क हुँदै हेभन वाटर पार्क भएर रामचोकसम्म फैलिएको वडा हो।
सभामा बिर्तामोड २ का वडा अध्यक्ष किशोर पौडेलले प्रस्तुत गर्नुभएको विशेष प्रस्ताव सभाबाट पारित भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो। उहाँले उक्त प्रस्ताव प्रक्रियाका लागि सरकारको सम्बन्धित निकायमा पेश गरिने बताउनुभयो।
नगर प्रमुख प्रसाईले नगरपालिका निर्माण गर्दा भौगोलिक अवस्थालाई पर्याप्त ध्यान नदिई सीमाङ्कन गरिएकाले वडा नम्बर २ र वडा नम्बर १० अत्यधिक ठूलो रहेको उल्लेख गर्नुभयो। बिर्तामोड १० पनि गारामुनि वार्ड नम्बर ९ को सिङ्गो भूगोल र एउटा तत्कालीन गाविससँग मिल्दो आकृतिको विशाल वडा भएकोले उक्त वडालाई समेत सम्पादन र कार्यक्षमता, विकास र विविध कारणले दुईवटा वडा बनाउने प्रस्ताव बहस गरिएको हो। यो वडा पनि बिर्तामोड ३ को सिमाना विराटपखरको केही दक्षिणबाट गोलधाप बजारसम्म फैलिएको छ। गोलधाप बजारको पेट्रोल पम्प हुँदै पश्चिम बजारका केही भाग छोएर छिमेकी गाउँपालिका बारर्दशीका भूगोल छुन्छ भने पूर्व आदर्श चोकबाट हल्दीबारी गाउँपालिका जाने सडक को केही पश्चिमसम्म आइपुग्ने यो वडा निकै फराकिलो र व्यवस्थापनका हिसाबले समेत दुईटा वडा बनाउँदा उपयुक्त हुने देखिएको हो।
बिर्तामोड नगरपालिकाले आउने समयमा दुईवटा वडाथपी १२ वटा वडा बनाउनुपर्ने देखिएको हो।
नेपालमा पछिल्लो समय स्थानीय पालिका व्यवस्थापन गर्ने गरी गृहकार्य भइरहेको बेला बिर्तामोड नगरपालिका सहित अर्जुनधरा नगरपालिका साविकको बुद्ध शान्ति गाविसको भूगोल र कन्काई नगरका दुईवटा वडा समेटेर उपमहानगरपालिका बनाउने प्रस्ताव समेत यसअघि नेपाल सरकारलाई बुझाइएको बिर्तामोडका उपप्रमुख नगेन्द्र कुमार संगौलाले पूर्व खबरलाई बताए।
यस्तै बिर्तामोड ४, बिर्तामोड ५ तथा बिर्तामोड ३ का केही महत्वपूर्ण सडक र सिमानाका विषयमा समेत निर्णय गर्नुपर्ने देखिएको छ। बिर्तामोड ५ वडाले अर्जुनधारा छ को सिमानामा समेत धेरै घरहरूमा सिमानाका समस्याहरू देखिएका छन्। महानन्द चोकबाट पूर्वपट्टि को सडकका उत्तरका थुप्रै घरहरूका आँगन बिर्तामोड नगरपालिका पर्छ भने बनेका आदि घरहरू अर्जुनधाराका भूगोलमा पर्छन्। त्यस्तै बिर्तामोड ३ नम्बरको बिर्ताबजारको भूगोलबाट राजमार्गको ६० मिटर पूर्वसम्म डाक्टर लक्ष्मी मैनालीको घर बिर्तामोड ३ पर्छ भने सँगै जोडिएको सञ्चारकर्मी गोपाल काफ्लेको घर बिर्तामोड ४ मा पर्छ। त्यस्तै नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सदस्य राजकुमार ओलीको घर बिर्तामोड ३ मा पर्छ भने घरको उत्तरपट्टिको बलेसी बिर्तामोड ४ मा पर्छ। मैनाली गेटको केही भूगोल र शाइ मन्दिर समेत बिर्तामोड ३ मा पर्छ भने सभासद् सुधिर शिवाकोटी को घर समेत बिर्तामोड ३ मा र उनको बाँकी छिमेकी हरू उत्तरपट्टिका बिर्तामोड चारमा पर्छन् । त्यस्तै बिर्तामोड इलाका प्रहरी कार्यालय बिर्तामोड पाँचमा पर्छ भने प्रहरी कार्यालयका छिमेकीहरू बिर्तामोड ४ मा पर्छन्। अदुवा खोला भूगोलसँग जोडिएका बिर्तामोड १ र ५ अनि चार का सिमानाहरुसमेत अस्तव्यस्त किसिमले बनेका छन्। नेपालकै ठूलो मध्येको एक प्रणामी समुदायको सभाहल बिर्तामोड १ मा पर्छ भने बाँकी भूगोलहरू अर्जुनराज ६ का भूगोलमा पर्छन् अदुवा खोलाबाट पश्चिममा बनेको उक्त सुविधा सम्पन्न सभाहललाई बिर्तामोडले सडक सञ्जाल र अन्य कारणले चाहेजस्तो रुपमा सहयोग गर्दै प्रयोग गर्न पाएको छैन। यसका लागि अदुवा खोलाको करिडोर अति आवश्यक देखिएको छ। बिर्तामोड ३ स्थित शान्ति टोल पश्चिमपट्टि रहेको बिर्तामोड नगरकै उत्कृष्ट गुम्बा मा जाने सडक बिर्तामोड तीनवाट नै पर्छ। तर उक्त गुम्बा बिर्तामोड ३ र ४ को सिमानासँग जोडिएको छ। साथै सँगै रहेको एउटा चर्च समेत को जाने बाटो बिर्तामोड तीनवटै पर्ने भएकोले यी गुम्बा र चर्च समेत ओझलमा परेका छन्।
यी तत्कालीन अनारमुनि चारपाने र गारामुनिका भूगोलबाट बनेको बिर्तामोड नगरपालिकाका वडाहरूमा समेत सिमानाका समस्याहरुलाई विज्ञ टोलीको सहयोग लिएर सिमनाको समस्यालाई अन्त्य गर्नुपर्ने देखिएको छ
