झापा । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोविन्द थापाले फागुन २१ गते हुने निर्वाचनमा देश जोगाउने राजनीतिक शक्तिलाई जिताउनुपर्ने बताएका छन्।
एमाले पशुपति टोल कमिटी दमक–८ द्वारा आयोजित टोल भेलालाई सम्बोधन गर्दै नेता थापाले अहिलेको निर्वाचन मुलुक जोगाउने र मुलुकलाई अस्थिरतातर्फ लैजाने शक्तिबीचको संघर्ष भएको दाबी गर्नुभयो। उहाँले यसअघिका निर्वाचनभन्दा दोब्बर मिहिनेत गरेर गाउँ–गाउँमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभयो।
पार्टीको पशुपति टोल कमिटी दमक–८ का अध्यक्ष सूर्यप्रसाद भेटवालको अध्यक्षतामा सम्पन्न भेलामा वडा कमिटी दमक–८ का संयोजकसमेत रहनुभएका थापाले बालेन साह झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नै चाहनामा नभई विदेशी शक्तिको इसारामा उम्मेद्वारी दिन आएको आरोप लगाउनुभयो।
नेता थापाले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार केपी शर्मा ओलीलाई मुलुकलाई विदेशी दलालको प्रभावबाट जोगाउन मतदाताले अघि सारेको दाबी गर्दै विगतका निर्वाचनभन्दा अझ सशक्त रूपमा परिचालन हुन कार्यकर्तालाई आग्रह गर्नुभयो।
उहाँले गत भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा बन्द कोठामा बसेर कलिला स्कुले युवालाई तोडफोडमा उक्साउने कार्य बालेन साहले गरेको आरोप पनि लगाउनुभयो। भदौ २४ गते विदेशी तत्वको निर्देशनमा देशभर सरकारी संरचना, व्यक्ति र नेताहरूको घर छानी–छानी तोडफोड गरिएको घटनाबारे गाउँ–टोलका बासिन्दालाई बुझाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
जनताका प्रतिनिधि भएर पनि सार्वजनिक बहसमा भाग नलिई आरोप–प्रत्यारोप गर्दै पन्छिने प्रवृत्तिले बालेन साहको राजनीतिक हैसियत प्रष्ट हुने थापाको दाबी थियो।
टोल भेलामा एमाले दमक–८ निर्वाचन परिचालन समितिका संयोजक तथा दमक–८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ले वडाको समग्र वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो।
एमालेले आगामी निर्वाचनलाई निर्णायक बताउँदै टोलस्तरबाटै संगठन सुदृढीकरण र मतदाता भेटघाटलाई तीव्र बनाउँदै लगेको जनाएको छ
