बिर्तामोड । भद्रपुर नगरपालिका–२ सगरमाथा चोकस्थित भद्रपुर–बनियानी पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज साँझ करिब ६:२० बजे बनियानीबाट पृथ्वीनगरतर्फ जाँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका भद्रपुर–२ निवासी ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोषको अनुहारमा गम्भीर चोट लागेको छ। उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि ओमसाई पाथिभरा अस्पताल रेफर गरिएको छ। मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय मन्दिप दंगालको अवस्था भने सामान्य रहेको छ।
दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *