बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारदेखि कनकाई नगरपालिकाको वडा नं. ९ घैलाडुब्बा जोड्ने गोकुल जोशी मार्गको बिर्तामोड खण्ड कालोपत्रे भएपछि यहाँका बासिन्दाले वर्षौंदेखिको असहज यात्राबाट राहत पाएका छन् ।

बिर्ताबजार-चम्पापुर करिब ८ किलोमिटर लम्बाईको गोकुल जोशी मार्ग अन्तरगत बिर्तामोड नगरपालिका खण्डमा कालोपत्रे गर्ने कार्य लगभग सकिए पछि स्थानीयको वर्षौदेखिको सपना पूरा भएको हो ।

बिर्तामोड २ लालमाटीमा ३० वर्षदेखि स्थायी बसोबास गर्दै आउनु भएका डिल्लीराम न्यौपाने (६१) वर्षातको समयमा बिर्ताबजार र घैलाडुब्बा जाँदा आउँदा हाफपेन्ट सुर्केर यात्रा गर्नुपरेको स्मरण गर्नुहुन्छ ।

पहिले ५३–५४ सालको एउटा घटना सुनाउँदै उहाँ भन्नुहुन्छ, ”अचार्जेनी भाउजुलाई सुत्केरी बेथा लागेछ । त्यतिबेला शनिश्चरे बजारमा मात्र डाक्टर भेटिन्थ्यो । गोरु गाडामा लिएर जाने भइयो तर अलिकति मास्तिर पुगेपछि गाडा हिलोमा गाडियो । अचार्जेनी भाउजुलाई सुत्केरी बेथाले च्यापिरहेको पीडा सुनि नसक्नुको थियो । बल्ल बल्ल केही घण्टामा हामी ४–५ जनाले ठेलेर गाडा निकालेका थियौं । त्यो दिन सम्झिँदा र आजको दिन देख्दा आकाश जमिनको फरक छ ।”

”जनताको मर्का बुझ्ने मानिसहरुले काम गर्ने मौका पाए भने यस्तो विकास गर्दा रहेछन् भन्ने कुराको उदाहरण बितेको तीन वर्षमा यो बाटोको रुप फेरिएबाटै प्रमाणित हुन्छ”, न्यौपाने भन्नुहुन्छ, ”देवराज घिमिरेले क्षेत्र नं. २ बाट जितेर गएकैले केन्द्र सरकारको बजेट आयो र यति छिटै कालोपत्रे सडकमा हिड्न पाइयो ।”

बिर्तामोड नगरपालिका वडा नम्बर ३ को बिर्ताबजार र २ को लालमाटी हुँदै घाग्रा तथा कनकाई नगरपालिका वडा नं. ९ को घैलाडुब्बा हुँदै बिरिङ खोला पारी वडा नं. ५ को चम्पापुर जोड्ने साँघुरो कच्ची बाटो फराकिलो कालोपत्रे सडकमा रुपान्तरण गरिँदै लगेको हो ।

बिर्तामोड २ को दाहाल गाउँ नजिकै करिब १०० मिटर बाहेक बिर्ताबजार–घाग्रासम्मको सडक खण्ड बितेको वर्ष कालोपत्रे गरिएको वडाध्यक्ष किशोर पौडेल बताउनु हुन्छ ।

उक्त मार्गको बिर्तामोड नगरपालिका क्षेत्रमा ४ वटा खण्डमा ठेक्का लागेर काम सम्पन्नताको चरणमा रहेको उहाँको भनाई छ । ”संघीय सरकार, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिका तीनवटै तहको सक्रियतामा गोकुल जोशी मार्गको स्तरोन्नति, कालोपत्रे तथा पूल कल्भर्ट निर्माण कार्य भएको” वडाध्यक्ष पौडेलले बताउनु भयो ।

बिर्तामोड २ घाग्रा खोला नजिकै पसल गरी बस्नुहुने ५४ वर्षीष डुकादेवी न्यौपानेलाई घर अगाडि फराकिलो कालोपत्रे बाटो भएपछि खुसीमात्र लागेको छैन, उहाँको ब्यापारमा पनि बढोत्तरी भएको छ । सडक बिस्तार भएपछि वरिपरी उद्योगहरु थपिएकाले त्यहाँका कामदारका कारण डुकादेवीको पसलमा ब्यापार बढेको छ । बिर्ताबजार पुग्न एक घण्टा लाग्ने बाटो अहिले १० मिनेटमा पुगिने भएकोले पनि उहाँजस्तै गृहिणीहरुमा खुसीको सञ्चार छाएको पाइन्छ ।

”वडाध्यक्ष सरदेखि माथि बस्ने सभामुख देवराज घिमिरेसम्मको प्रयासमा घर अगाडि ठूलो पिच बाटो बनेकोमा हामी यहाँका महिलाहरुको तर्फबाट धन्यवाद सुनाईदिनु होला” डुकादेवीले साझामञ्च मार्फत सन्देश पनि प्रवाह गर्नुभयो ।

गरामनीबाट पैदल यात्रा गर्दै आदर्श विद्या मन्दिर मावि घैलाडुब्बामा आवतजावत गर्दा भोगेको कष्टलाई अन्त्य गर्न शिक्षक गोकुल जोशीले उक्त बाटोको परिकल्पना गर्नुभएको बताइन्छ । साहित्यकारसमेत रहनु भएका शिक्षक जोशीले बाटोको परिकल्पना गर्दै सो क्षेत्रका बासिन्दासँग समन्वय गरी पहिलो फरुवा चलाउनु भएको सम्मानमा उहाँकै नाममा सडकको नामकरण पनि गरिएको वडाध्यक्ष पौडेलको भनाई छ ।

लालमाटी चोकमा चटपटे पानीपुरीको ब्यवसाय गर्दै बस्नु भएकी दुर्गा कोइरालाको ब्यापार पनि अहिले फस्टाएको छ । ”पहिले बाटोको धुलो उडेर चटपटेमा पस्ने डरले ब्यवसाय चल्दैनथ्यो तर अहिले सडक कालोपत्रे भएसँगै पसल राम्रै चल्न थालेको” उहाँको भनाई छ । पहिले आफ्ना नानीहरुलाई स्कूल पठाउँदा र ल्याउँदा भोग्नु परेको कष्ट सम्झँदै उहाँले भन्नुभयो, ”अहिले त स्कूल बस यही चोकमा आइपुग्छ, सजिलो भएको छ ।”

ठेक्केदार कम्पनीहरु जय लक्ष्मी निर्माण सेवा, सिद्दीथुम्का निधिल जेभी, शान्ति निर्माण सेवा प्रालि र ओजस इन्जिनियरिङ सोलुसन प्रालिले पछिल्लो बजेटबाट बिर्तामोड नगरपालिका खण्डको सडक निर्माण गर्ने जिम्मेवारी पाएको बिर्तामोड नगरपालिकाका इन्जिनियर डिल्लीराम ओलीले बताउनु भयो ।

तत्कालीन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, कोशी प्रदेश सरकारका तत्कालीन खानेपानी सिंचाई तथा उर्जामन्त्री एकराज कार्की र बिर्तामोड नगरपालिकाको पहल र प्रयासमा सडक विभाग पूर्वाधार कार्यालय लगायतबाट १० करोड रुपैयाँभन्दा बढीको लगानीमा बिर्तामोड खण्डको सडक कालोपत्रे सम्पन्न भएको इन्जिनियर ओलीले जानकारी दिनुभयो ।

बिर्तामोड २ शान्तिटोलका ब्यापारी खेमनाथ सेढाईं सडक स्तरोन्नति भएसँगै ब्यापारमा पनि बृद्धि भएको बताउनु हुन्छ । ”पहिले यो बाटो साँघुरो र सानो थियो । जुत्ता लगाएर हिंड्ने अवस्था थिएन । बिर्ताबजार जान पनि घुँडा घुँडा हिलो भएको खाल्डाखुल्डी पार गर्नुपथ्र्यो । गोरु गाडामा दुःख गरेर सामान ढुवानी गर्नुपथ्र्यो । अहिले बाटो पिच भएपछि चोकमा नै डिलरहरुले सामान ल्याइदिन्छन् र अलि सरल दाममा बेच्न पाइएको छ । यहाँ आसपासको जमिनको भाउ पनि बढेको छ । चार पाँच वटा त ठूला फ्याक्टीहरु बनेका छन् । यो पनि त बाटोकै कारण भएको हो ।”

”एक डेढ वर्ष अघिसम्म बाटो छेउमा यसरी बस्नै सकिँदैन थियो, धुलाम्मे सडकबाट उडेर आएर जिउभरि हुन्थ्यो,” सेढाईं भन्नुहुन्छ, ”धेरै बालबालिका र बृद्धहरु बिरामी भइरहन्थे । तर अहिले यस्तो समस्या छैन ।”

गोकुल जोशी मार्गको बिर्तामोड–कनकाई नगरपालिका सीमाना घाग्रादेखि घैलाडुब्बा बजार हुँदै बिरिङसम्म पुग्ने सडकको विभिन्न स्थानमा बक्स कल्भर्ट निर्माण गरिँदैछ भने बिरिङ नदीमा पक्की पूलको लागि निर्माण कार्य सुरु गरिएको छ ।

प्रतिनिधि सभा सदस्यको गत चुनावमा प्रतिवद्धता गरे अनुसार नै क्षेत्र नं. २ का सांसद तथा सभामुख देवराज घिमिरेको सक्रियतामा बजेट विनियोजन गरी बिरिङ नदीमा पक्की पूलको ठेक्का लागेर निर्माण कार्यसमेत सुरु भइसकेको पाइएको छ ।

गत २०८२ जेठ ७ गते स्थानीय पूर्वाधार विकास परियोजना इटहरीले भ्याटसहित ३० करोड १० लाख ३७ हजार ६०० रुपैयाँ लागतमा घैलाडुब्बा चम्पापुर जोड्ने बिरि खोलामा पक्की पूल निर्माण गर्न नारायनम शारदा कृष्णलीला जेभी नेपालगञ्जसँग सम्झौता गरी काम अगाडि बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *