राजकुमार ओली बिर्तामोड
कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल र भारतका टोली सहभागी हुने उक्त प्रतियोगिता माघ २१ गतेदेखि झापा जिल्लाको भद्रपुरस्थित मेचि बहुमुखी क्याम्पसको क्रिकेट रङ्गशालामा सुरु हुने भएको हो।
आयोजक समितिले आज सोमबार भद्रपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएको जानकारी दिएको छ। आयोजक समितिका सल्लाहकार एवं भद्रपुर ८ का वडा अध्यक्ष मनोज सुब्बाका अनुसार प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटन समारोहमा प्रदेश सरकार, स्थानीय तह, खेलकुद संघ–संस्था तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ।
प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलीलाई नगद पाँच लाख रुपैयाँ र उपविजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
कार्यक्रमका संरक्षक तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले प्रतियोगिताले भद्रपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको केन्द्रका रूपमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार खेलकुद पूर्वाधार विकास र युवा प्रतिभा प्रोत्साहनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन आयोजक टिमलाई शुभकामना तथा बधाई दिनुभयो।
क्लबका अध्यक्ष आदित्य पराजुलीले निकै कठिन परिस्थितिमा जंगलको माटो ल्याएर क्रिकेट रङ्गशाला निर्माण गरिएको स्मरण गर्दै यो प्रतियोगिता स्थानीयको सपना र संघर्षको प्रतिफल भएको बताउनुभयो। उहाँका अनुसार सीमित स्रोत र साधनका बाबजुद पनि खेलकुदप्रतिको लगाव र समर्पणका कारण यस्तो अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सम्भव भएको हो।
कोशी प्रदेश सरकार र भद्रपुर नगरपालिकाको सहयोगमा यो अभियान अघि बढाइएको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, सक्षम र सकारात्मक दिशामा अघि बढाउने भएकाले नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो वडालाई नेपालकै उत्कृष्ट वडा बनाउने लक्ष्यसहित भद्रपुरलाई खेलकुदको ‘हब’ का रूपमा विकास गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार क्रिकेटसहित अन्य खेलकुद गतिविधि विस्तार गरी युवालाई रोजगारी र अवसरसँग जोड्ने योजना रहेको छ।
आयोजक समितिले प्रतियोगिताले स्थानीय पर्यटन, व्यवसाय र खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ। प्रतियोगिता अवधिभर खेलाडी, दर्शक र पाहुनाको सुरक्षाका लागि आवश्यक सबै व्यवस्था मिलाइएको आयोजकको दाबी छ।
