बिर्तामोड, माघ २७ । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलमा लालिगुराँस एसोसिएसन पोखरासँग निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि आर्मीले टाइब्रेकरमा ४–२ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
टाइब्रेकरमा आर्मीका नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे । पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गर्न सके । पोखराका लक्षु थापाको प्रहार बाहिरिँदा विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल पारेका थिए ।
खेलको पहिलो हाफमा पोखराले दबाब सिर्जना गरे पनि गोल गर्न सकेन । दोस्रो हाफमा आर्मीले सुधारिएको प्रदर्शन गर्दै आक्रमण तीव्र बनाएको थियो । खेलको ७९औँ मिनेटमा जर्जप्रिन्स कार्कीको शक्तिशाली प्रहार पोखराका गोलकिपर अनिस महतोले पञ्च गर्दै बचाएका थिए ।
इन्ज्युरी समयमा आर्मीले लगातार आक्रमण गरेको थियो । जिलेस्पीजंग कार्कीको प्रहार तथा जर्जप्रिन्स कार्कीको हेडर गोलमा परिणत हुन सकेन । पोखराले पनि पहिलो हाफमा केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भयो ।
खेलको प्लेयर अफ द म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
बुधबार हुने अर्को क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत टिकट काटेर खेल अवलोकन गर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टेलिभिजन प्राप्त गरेका छन् । बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट काट्ने दर्शकमध्ये एकजनालाई टेलिभिजन प्रदान गर्दै आएको छ ।
त्यस्तै प्रतियोगिताको पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट खरिद गर्ने दर्शकमध्ये एकजनालाई यामाहा कम्पनीको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *