cURL Error: 0 ज्ञानुराम प्रसाईँको स्मृतिमा बर–पिपल रोपण, ‘स्मृति ग्रन्थ’ प्रकाशनको तयारी - पूर्व खबर

ज्ञानुराम प्रसाईँको स्मृतिमा बर–पिपल रोपण, ‘स्मृति ग्रन्थ’ प्रकाशनको तयारी

 

राजकुमार ओली,बिर्तामोड, असार २५ — नेकपा (एमाले) का युवा नेता तथा राजनीतिक–सामाजिक व्यक्तित्व स्वर्गीय ज्ञानुराम प्रसाईँको पाँचौँ स्मृति दिवसका अवसरमा ज्ञानुराम प्रसाईँ स्मृति प्रतिष्ठानले झापाको अर्जुनधारा–९ स्थित नमुना सामुदायिक वन क्षेत्रमा बर र पिपलका बिरुवा रोपेर श्रद्धाञ्जलि अर्पण गरेको छ।
स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण तथा श्रद्धाञ्जलि कार्यक्रममा सहभागीहरूले प्रसाईँले राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपान्तरणका क्षेत्रमा पुर्‍याएको योगदान समाजका लागि प्रेरणादायी रहेको बताए। उहाँको इमानदार, जुझारु र जनमुखी नेतृत्वले स्थानीय समाजमा सकारात्मक प्रभाव छाडेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा राजनीतिक अगुवा नरेश खरेलले स्वर्गीय प्रसाईँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा पुर्‍याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने उल्लेख गर्दै त्यस्ता व्यक्तित्वको स्मृतिलाई वृक्षारोपणजस्ता रचनात्मक अभियानसँग जोड्नु अनुकरणीय कार्य भएको बताए।
प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईँले दिवङ्गत पतिको स्मृतिलाई समाजसेवासँग जोड्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवारका तर्फबाट पुष्प प्रसाईँले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रतिष्ठानका सचिव सुब्रत न्यौपानेका अनुसार स्मृति दिवसका अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्वसँग सम्बन्धित रचनात्मक तथा परोपकारी कार्यक्रम सञ्चालन हुँदै आएको छ। यसअघि अदुवा खोला करिडोर क्षेत्रमा वृक्षारोपण, रक्तदानलगायतका कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानले अहिले ‘ज्ञानुराम प्रसाईँ स्मृति ग्रन्थ’ प्रकाशनको अन्तिम तयारीसमेत गरिरहेको जनाएको छ।
प्रतिष्ठानले स्मृति दिवसलाई औपचारिक श्रद्धाञ्जलिमा मात्र सीमित नराखी वातावरण संरक्षण, सामाजिक सेवाका गतिविधि तथा स्वर्गीय ज्ञानुराम प्रसाईँको योगदान नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *