राजकुमार ओली,भद्रपुर, असार २४ — जिल्ला प्रहरी कार्यालय झापाले गृहमन्त्री सुदन गुरुङको झापा भ्रमणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीसहित सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिइएको भन्ने समाचार भ्रामक, निराधार र कपोलकल्पित भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले बुधबार प्रेस विज्ञप्तिमार्फत केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित उक्त समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको हो।
विज्ञप्तिअनुसार असार २१ गते गृहमन्त्री गुरुङले काकडभिट्टा नाकाको निरीक्षण गर्ने क्रममा सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिइएको, प्रहरीलाई निगरानीमा राखिएको तथा तस्बिर खिच्न रोक लगाइएको भन्ने दाबी तथ्यहीन र कपोलकल्पित रहेको उल्लेख छ।
प्रहरीले यस्ता अपुष्ट र आधारहीन समाचारले नागरिकमा भ्रम सिर्जना गर्ने भन्दै आधिकारिक स्रोतबाट पुष्टि नभएका सूचना प्रकाशन, प्रसारण वा सामाजिक सञ्जालमार्फत सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेको छ।
डीएसपी अवाले तथ्यमा आधारित र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्न सबै सञ्चारमाध्यमलाई अनुरोध गर्दै आधिकारिक स्रोतबाट पुष्टि भएका सूचनामात्र सम्प्रेषण गर्न अपिल गर्नुभएको छ।



