cURL Error: 0 निःशुल्क पोशाक वितरण गर्ने दाता संग्रौला दम्पति सम्मानित - पूर्व खबर

निःशुल्क पोशाक वितरण गर्ने दाता संग्रौला दम्पति सम्मानित

राजकुमार ओली २२असार  (पूर्व खबर) — समाजसेवा र शैक्षिक विकासलाई जीवनको महत्वपूर्ण अभियान बनाउँदै आएका बिर्तामोड दुई रामचोक स्थित  हिमाल सागर रिसोर्टका सञ्चालक, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा नेपाल प्रहरीका पूर्व अधिकृत देवीप्रसाद संग्रौलाले यस वर्ष पनि विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गरेका छन्। कन्काई नगरपालिका–९ स्थित आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले कक्षा १ देखि ७ सम्म अध्ययनरत २६ जना विद्यार्थीलाई पोशाक वितरण गरेका हुन्।
कार्यक्रममा उनकी धर्मपत्नी सुशीला न्यौपाने संग्रौला, सावित्रा घिमिरे परिवारका सदस्य हिमाल, सागर, सिर्जना र सुषमा संग्रौलाको समेत सहभागिता रहेको थियो। विद्यालय परिवारले संग्रौला दम्पति तथा परिवारलाई शिक्षा र समाजसेवामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरेको हो ।
विद्यालयका प्रधानाध्यापक नरहरि न्यौपानेका अनुसार देवीप्रसाद संग्रौलाले २०४६ सालदेखि आफूले पाउने वार्षिक दुई महिनाको तलब बराबरको रकम शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगमा खर्च गर्ने परम्परा बसालेका छन्। उनले प्रहरी सेवामा रहँदा सुरु गरेको सहयोगको अभियान अवकाशपछि पनि निरन्तर जारी राखेका छन्। यस वर्ष पनि सोही अभियानअन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको प्रधानाध्यापक न्यौपानेले बताए।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक उपलब्ध गराउँदा उनीहरूको पढाइप्रतिको आत्मविश्वास बढ्ने र विद्यालय छाड्ने सम्भावना पनि कम हुने विश्वासका साथ संग्रौलाले वर्षेनी सहयोग गर्दै आएका छन्।
देवीप्रसाद संग्रौलाको समाजसेवा केवल एक विद्यालयमा सीमित छैन। उनले झापाको मोहनमाया माध्यमिक विद्यालय (बिर्तामोड), दुर्गा माध्यमिक विद्यालय (गरामुनी), पोखरी माध्यमिक विद्यालय, आठराइ ,काठमाडौंको पिपलबोट क्षेत्रका शैक्षिक संस्थालगायत विभिन्न विद्यालय तथा सामुदायिक संघसंस्थालाई तीन दशकभन्दा बढी समयदेखि सहयोग गर्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सामाजिक सेवादेखि विपद्का बेला राहत वितरणसम्म उनका सहयोग निरन्तर रहँदै आएको स्थानीयवासी बताउँछन्। नेपाल प्रहरीको जागिरे हुँदा सामुदायिक प्रहरीको अवधारणामा उल्लेख्य भूमिका खेलेका संग्रौलाले काठमाडौँ क्षेत्रको सामुदायिक प्रहरी संस्था निर्माण र सहजीकरण अभियानमा सक्रिय भूमिका खेलेबापत गृह मन्त्रालयबाट समेत पुरस्कृत भएका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले संग्रौलाको समाजसेवाको प्रेरणाको स्रोत उनका स्वर्गीय पिता नारायणप्रसाद संग्रौला रहेको उल्लेख गरे। शिक्षा र सामाजिक विकासमा समर्पित नारायणप्रसाद संग्रौलाले आफू र आफ्नो परिवारको समेत सहयोग लिएर तत्कालीन समयमा सिम्ले माध्यमिक विद्यालय, पोखरी माध्यमिक विद्यालय तथा टुँडिखेल प्राथमिक विद्यालयलगायतका शैक्षिक संस्थाको सञ्चालन र व्यवस्थापन सहज बनाउन करिब १ सय८० रोपनीभन्दा बढी जग्गा दान गरेको जानकारी कार्यक्रममा दिइयो। ग्रामीण क्षेत्रमा विद्यालय स्थापना र सञ्चालनका लागि जग्गा दान गर्नु त्यतिबेला निकै ठूलो सामाजिक योगदानका रूपमा लिइने गरिएको श्रीमती ८८ वर्षीय ईश्वरादेवी प्रसाई (संग्रौला) ले पूर्व खबरलाई बताउनुभयो।
वक्ताहरूका अनुसार पिता नारायणप्रसादले सुरु गरेको शिक्षा सेवाको अभियानलाई छोरा देवीप्रसादले नयाँ पुस्तासम्म निरन्तरता दिएका छन्। विद्यालयलाई आवश्यक सहयोग, विद्यार्थीलाई प्रोत्साहन तथा सामाजिक संस्थालाई सहयोग गर्दै उनले आफ्नो परिवारको परोपकारी परम्परालाई अझ फराकिलो बनाएका छन्।
झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले संग्रौला परिवार विगतदेखि नै सामाजिक विकासका अभियानमा अग्रसर रहँदै आएको बताइन्। उनका अनुसार २०३४ साल देखि  झापा गाउँपालिकाको सरणामति–झाटी क्षेत्रमा बसोबास गर्दा पनि उक्त परिवारले सडक, नाला तथा खानेपानी निर्माणजस्ता सामुदायिक विकासका अभियानमा सक्रिय भूमिका खेलेको थियो। हाल पनि उक्त क्षेत्रको नारायण पैनि स्थानीय कुसानहरूको लागि आर्थिक चलायमानको महत्वपूर्ण हिस्सा बनेको छ । समाजप्रतिको त्यही समर्पण अहिले पनि निरन्तर देखिएको उनले उल्लेख गरिन्।
हाल बिर्तामोडमा बसोबास गर्दै आएको संग्रौला परिवारले शिक्षा, सामाजिक सेवा, धार्मिक तथा मानवीय क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको स्थानीयवासीको भनाइ छ। निजी स्रोतबाट हुने यस्ता सहयोगले समाजमा सकारात्मक सन्देश फैलाउने उनीहरूको विश्वास छ।
कार्यक्रममा संग्रौला परिवारका  नातेदार आदर्श विद्या मन्दिर विद्यालयको स्थापना र विकासमा शिक्षासेवी देवीप्रसाद उप्रेतीले पुर्‍याएको योगदानको पनि स्मरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश आङबोहाङका अनुसार विद्यालयको नाममा १ सय बिघाभन्दा बढी जग्गा भए पनि त्यसबाट अपेक्षित आम्दानी हुन नसक्दा विद्यालय सञ्चालन तथा व्यवस्थापनमा आर्थिक चुनौती रहेको छ। उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय समुदाय, अभिभावक तथा दाताको सहयोग आवश्यक रहेको उनले बताए।
विद्यालय परिवारले शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका दाताको सम्मान गर्ने परम्पराले समाजमा सहयोगको संस्कार विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा विद्यालयले देवीप्रसाद संग्रौला, सुशीला न्यौपाने संग्रौला तथा संग्रौला परिवारलाई सम्मानपत्र प्रदान गर्दै शिक्षा र समाजसेवामा उनीहरूले पुर्‍याएको दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गरेको थियो। सहभागीहरूले आर्थिक रूपमा कमजोर विद्यार्थीको शिक्षामा सहयोग पुर्‍याउने यस्ता अभियानले सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्नुका साथै अन्य व्यक्ति तथा संस्थालाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *