cURL Error: 0 १५ हजार युवालाई उद्यमी बनाउने महत्वकाङ्क्षा योजना बुनेकोछु : महेन्द्र गिरी - पूर्व खबर

१५ हजार युवालाई उद्यमी बनाउने महत्वकाङ्क्षा योजना बुनेकोछु : महेन्द्र गिरी

 

राजकुमार ओली , असार २१ (पूर्व खबर अनलाइन) — सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले व्यक्तिगत सफलताभन्दा हजारौँ मानिसलाई आत्मनिर्भर र उद्यमी बनाउन सक्नु नै वास्तविक सफलता भएको बताउनुभएको छ।
आइतबार बिर्तामोडबाट सार्वजनिक गर्नुभएको आफ्नो अनुभव र भावनात्मक लेखमार्फत उहाँले चार दशकभन्दा लामो सामाजिक, सहकारी र वित्तीय क्षेत्रको यात्राले आफूलाई सफलता साझा हुनुपर्छ भन्ने जीवनदर्शन दिएको उल्लेख गर्नुभएको हो।
गिरीले विक्रम संवत् २०३९ सालदेखि विकास तथा सामाजिक सेवाको क्षेत्रमा करिब १५ वर्ष काम गरेको र त्यसपछि २०५२ सालदेखि सहकारी तथा वित्तीय क्षेत्रमा सक्रिय रहँदै लाखौँ नेपालीको आर्थिक यात्रामा सहयात्री बन्ने अवसर पाएको स्मरण गर्नुभएको छ।
“एउटा मानिस एक्लै सफल हुनु ठूलो कुरा होइन, हजारौँ मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउनु नै वास्तविक र साँचो सफलता हो,” उहाँले भन्नुभएको छ।
आफ्नो प्रारम्भिक जीवन रित्तो हात र सीमित स्रोतबाट सुरु भएको उल्लेख गर्दै उहाँले संघर्षका क्रममा अभाव, असफलता र निराशाका धेरै क्षण आए पनि सपना देख्ने साहस भने कहिल्यै नछोडेको बताउनुभएको छ।
नेपालमा स्थापित ठूला व्यावसायिक घरानाको योगदानको सम्मान गर्दै गिरीले आफू भने सीमित व्यक्तिको स्वामित्वमा रहने व्यवसायभन्दा हजारौँ सर्वसाधारणलाई अवसर दिने सामाजिक व्यवसायको अवधारणालाई अघि बढाउन चाहेको उल्लेख गर्नुभएको छ।
उहाँले अबको १५ वर्ष सामाजिक व्यवसायमार्फत नयाँ पुस्ताका उद्यमी तयार पार्ने लक्ष्य लिएको जनाउँदै लगानीकर्ता मात्र बढाउने होइन, देशभर हजारौँ आत्मविश्वासी र सक्षम उद्यमी जन्माउने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ।
“आज म आफ्ना लागि होइन, आफ्नै देशमा अवसर खोजिरहेका सिर्जनशील युवाका लागि सपना देखिरहेको छु,” उहाँले लेख्नुभएको छ। विदेशिन बाध्य युवालाई स्वदेशमै उद्यम गर्ने वातावरण निर्माण गर्न सके देशको आर्थिक रूपान्तरण सम्भव हुने उहाँको विश्वास छ।
गिरीले सामाजिक व्यवसायको माध्यमबाट हजारौँ नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित बनाउन सकिने उल्लेख गर्दै सफलता कुनै एक व्यक्तिको विजय नभई सबैलाई साथमा लिएर हासिल गरिने साझा उत्सव भएको धारणा व्यक्त गर्नुभएको छ।
उहाँले आगामी दिनमा सहकार्य, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आर्थिक समृद्धिको अभियानलाई थप विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *