राजकुमार ओली, असार २० (बाटिका अनलाइन) — झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन पाँचतारे होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ को स्वामित्व परिवर्तन भएको छ। नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का परिवारको लगानी रहेको उक्त परियोजनाको मुख्य स्वामित्व अब बिर्तामोडका सुन व्यवसायी राजेश कुमार सोनीको हातमा पुगेको छ।
कम्पनी स्रोतका अनुसार होटल निर्माण गरिरहेको होटल इस्टर्न नेपाल प्रालिको प्रमुख प्रवर्द्धक कम्पनी न्यु इन्फ्रा हेभन ग्रुप होल्डिङ्सको झण्डै सम्पूर्ण सेयर सोनीले खरिद गरेसँगै परियोजनाको नेतृत्व परिवर्तन भएको हो। यससँगै पूर्वमन्त्री खड्का परिवार परियोजनाबाट पूर्ण रूपमा बाहिरिएको बताइएको छ।
उद्योग तथा व्यावसायिक क्षेत्रका जानकारहरूका अनुसार झापामा निर्माणाधीन यो सबैभन्दा ठूलो होटल परियोजनामध्ये एक हो। भारतको सिलिगुडी, काँकडभिट्टा र पूर्वी नेपालको पर्यटकीय तथा व्यापारिक सम्भावनालाई लक्षित गरी निर्माण भइरहेको होटलले सञ्चालनमा आएपछि पूर्वी नेपालको आतिथ्य उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
जानकारीअनुसार सन् २०२५ को अन्त्यसम्म कम्पनीको नेतृत्व पूर्वमन्त्री खड्काकी श्रीमती विनिता खड्काको हातमा थियो। त्यसबेला कम्पनीको सम्पूर्ण स्वामित्व खड्का परिवारकै नियन्त्रणमा रहेको थियो। तर सन् २०२६ को मध्यदेखि कम्पनीको करिब ९९ प्रतिशत सेयर राजेश कुमार सोनीको नाममा हस्तान्तरण भएको स्रोतले जनाएको छ। बाँकी सेयर केही साना लगानीकर्ताको नाममा रहेको बताइएको छ।
यद्यपि सेयर खरिद–बिक्रीको आधिकारिक मूल्य सार्वजनिक गरिएको छैन। व्यावसायिक स्रोतहरूका अनुसार करिब दुई अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबारमा स्वामित्व हस्तान्तरण भएको अनुमान गरिएको छ। यसबारे सम्बन्धित पक्षले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेका छैनन्।
परियोजनाको प्रारम्भिक कुल लागत करिब तीन अर्ब २७ करोड रुपैयाँ अनुमान गरिएको थियो। कम्पनीले बैंक ऋण र स्वपुँजीको मिश्रित मोडेलमा होटल निर्माण अघि बढाएको थियो। यसमध्ये करिब ७० प्रतिशत लगानी बैंक ऋणबाट र बाँकी स्वपुँजीबाट व्यवस्थापन गरिएको थियो।
आर्थिक क्षेत्रका जानकारहरूका अनुसार निर्माण अवधिमा लागत वृद्धि, ब्याजदरको भार तथा थप पुँजी व्यवस्थापनको चुनौतीका कारण परियोजनामा वित्तीय दबाब बढेको थियो। यसले स्वामित्व परिवर्तनको निर्णयमा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ।
यसअघि पनि होटल खरिदका लागि विभिन्न व्यावसायिक समूहसँग छलफल भएको चर्चा चलेको थियो। अन्ततः बिर्तामोडका व्यवसायी राजेश सोनीले परियोजनाको मुख्य स्वामित्व हात पार्न सफल भएका हुन्।
राजेश सोनी झापाका स्थापित सुन व्यवसायीका रूपमा परिचित छन्। पछिल्ला वर्षहरूमा उनले होटल, रियल इस्टेट तथा अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्दै आएका छन्। पाँचतारे होटल परियोजनामा उनको प्रवेशलाई पूर्वी नेपालको निजी क्षेत्रको ठूलो लगानीका रूपमा हेरिएको छ।
परियोजनाको नेतृत्व परिवर्तनसँगै निर्माण कार्यलाई तीव्रता दिइएको कम्पनी स्रोतले जनाएको छ। हाल होटलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको बताइएको छ।
किन बेचियो होटल ? नयाँ लगानीकर्ताको योजना र पूर्वी नेपालको पर्यटनमा अपेक्षा
झापाको धुलाबारीमा निर्माणाधीन पाँचतारे होटलको स्वामित्व परिवर्तनसँगै यसको कारण, नयाँ व्यवस्थापनको योजना तथा पूर्वी नेपालको पर्यटन र अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे चासो बढेको छ।
व्यावसायिक स्रोतहरूका अनुसार होटल निर्माणका क्रममा लागत बढ्दै जानु, बैंक ऋणको भार वृद्धि हुनु तथा परियोजना सम्पन्न गर्न थप लगानी आवश्यक पर्नुले पूर्वमन्त्री दीपक खड्का परिवारले परियोजनाबाट बाहिरिने निर्णय गरेको मानिएको छ। कम्पनीले करिब ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको आधारमा परियोजना अघि बढाएको थियो। निर्माणमा ढिलाइ हुँदा ऋणको ब्याजसमेत बढ्दै गएको स्रोतहरूको भनाइ छ।
होटलको कुल अनुमानित लागत करिब तीन अर्ब २७ करोड रुपैयाँ रहेको बताइएको छ। त्यसमध्ये ठूलो हिस्सा बैंकबाट ऋणका रूपमा जुटाइएको थियो। वित्तीय दायित्व बढ्दै जाँदा परियोजनालाई समयमै सम्पन्न गर्न थप लगानीकर्ता आवश्यक परेको व्यवसायीहरूको बुझाइ छ।
यद्यपि पूर्वमन्त्री दीपक खड्का वा व्यवसायी राजेश कुमार सोनीले सेयर खरिद–बिक्रीको मूल्य तथा सम्झौताका विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। बजारमा करिब दुई अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको चर्चा भए पनि त्यसबारे सम्बन्धित पक्षबाट औपचारिक पुष्टि हुन बाँकी छ।
नयाँ व्यवस्थापन आएपछि निर्माण कार्यले गति लिएको बताइएको छ। कम्पनी स्रोतका अनुसार होटलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। यसअघि सन् २०२६ को अप्रिलसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि अहिले आगामी अक्टोबर अर्थात् दशैं आसपास होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
निर्माण सम्पन्न भएपछि होटल अन्तर्राष्ट्रिय ब्रान्ड ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ अन्तर्गत सञ्चालन हुने जनाइएको छ। पूर्वी नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल सञ्चालनमा आएपछि भारतीय पर्यटक, व्यावसायिक प्रतिनिधिमण्डल तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित सेवा विस्तार हुने अपेक्षा गरिएको छ।
धुलाबारी–काँकडभिट्टा क्षेत्र नेपाल–भारत सीमाको प्रमुख व्यापारिक नाका भएकाले होटलले व्यापारिक पर्यटन (बिजनेस टुरिजम), सम्मेलन, गोष्ठी तथा अन्तर्राष्ट्रिय बैठक आयोजना गर्न समेत सहज वातावरण बनाउने विश्वास गरिएको छ। पूर्वी नेपालमा पाँचतारे स्तरको सुविधा सीमित रहेकाले यो परियोजनालाई निजी क्षेत्रको महत्वपूर्ण लगानीका रूपमा हेरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार होटल सञ्चालनमा आएपछि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सयौंले रोजगारी पाउने, स्थानीय कृषि उत्पादन, दुग्धजन्य वस्तु, हस्तकला तथा सेवा क्षेत्रले समेत बजार विस्तारको अवसर पाउनेछ। मेचीनगर, बिर्तामोड, इलाम, ताप्लेजुङ, पाँचथर तथा पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
झापा पछिल्ला वर्षहरूमा औद्योगिक, व्यापारिक तथा पर्यटन गतिविधिको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। काँकडभिट्टा नाका हुँदै दैनिक हजारौं नेपाली र भारतीय नागरिकको आवागमन हुने भएकाले अन्तर्राष्ट्रियस्तरको होटलको माग बढ्दै गएको व्यवसायीहरूको भनाइ छ।
आर्थिक विश्लेषकहरूका अनुसार ठूलो परियोजनाको स्वामित्व परिवर्तन हुनु निजी क्षेत्रका लागि अस्वाभाविक घटना होइन। परियोजना समयमै सम्पन्न हुने, लगानी सुरक्षित हुने तथा सञ्चालन प्रभावकारी बन्ने अवस्था सिर्जना भए त्यस्ता परिवर्तनलाई सकारात्मक रूपमा लिन सकिने उनीहरूको धारणा छ।
यसबीच होटलको स्वामित्व परिवर्तनलाई झापामा पछिल्ला वर्षहरूमा बढ्दै गएको निजी लगानीको अर्को संकेतका रूपमा पनि हेरिएको छ। उद्योग, होटल, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार क्षेत्रमा स्थानीय व्यवसायीको लगानी विस्तार हुँदै गएको अवस्थामा राजेश कुमार सोनीको यो लगानीले पूर्वी नेपालको आतिथ्य उद्योगमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।
होटल सञ्चालनमा आएपछि झापाको पर्यटन, व्यापार तथा सेवा क्षेत्रलाई नयाँ गति मिल्ने विश्वास गरिएको छ। तर परियोजनाको वास्तविक सफलता भने निर्माण कार्य समयमै सम्पन्न हुनु, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिनु र अपेक्षित पर्यटक तथा व्यावसायिक ग्राहक आकर्षित गर्न सक्ने क्षमतामा निर्भर रहने पर्यटन क्षेत्रका जानकारहरूको भनाइ छ। हाल झापाको बिर्तामोड क्षेत्रमा किङ्सबेरी होटल तथा मेचीनगरमा मेची क्राउन सहित अन्य दुई क्यासिनो सहितका होटल चालु अवस्थामा छन् भने दमकमा एउटा बिर्तामोडमा दुर्गा प्रसाईको थप अर्को र मेचीनगरमा सोल्टी होटलको अर्को शाखा समेत सन्चालनको अन्तिम चरणमा पुगेको छ।
बिर्तामोड आसपासलाई आधार बनाएर हुने टुरिजम लाई जोड्दै झापा जिल्लामा आधा दर्जन धेरै क्यासिनो सहितका पाँचतारे होटल खोल्नु लाइ पूर्व नेपालकै उत्कृष्ट गन्तव्य स्थल बन्न खोजेको देखिएको छ।



