cURL Error: 0 कुचो व्यवसायी प्रसाईसहित चारजना जुवाखालबाट पक्राउ - पूर्व खबर

कुचो व्यवसायी प्रसाईसहित चारजना जुवाखालबाट पक्राउ

 

झापा, असार १७ (पुर्व खवर) — झापाको मेचीनगर नगरपालिका–१०, धुलाबारीस्थित एक होटलमा प्रतिबन्धित जुवा खेलिरहेको अवस्थामा कुचो व्यवसायी तेजु प्रसाईंसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनास्थलबाट नगद रु. एक लाख ५० हजार तथा जुवा खेल्न प्रयोग गरिएका तासलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले सोमबार साँझ होटलमा छापा मारेर मेचीनगर–११ का तेजु प्रसाईं, कालुमान लिम्बू, पञ्चप्रसाद राजबंशी तथा होटल सञ्चालक राजपथ राजबंशीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले पक्राउ परेका चारै जनाविरुद्ध जुवा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार पक्राउ परेका प्रसाईंको साथबाट रु. एक लाख ५० हजार नगद बरामद भएको छ भने घटनास्थलबाट तास र अन्य खेल सामग्रीसमेत नियन्त्रणमा लिइएको छ।
प्रवक्ता अवाले अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको बताए। उनले जुवा तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको उल्लेख गरे।
प्रहरी स्रोतका अनुसार उक्त होटलमा केही समयदेखि जुवा खेलाइँदै आएको भन्ने सूचनाका आधारमा टोली परिचालन गरिएको थियो। त्यसक्रममा छापा मार्दा चारै जना जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए।
यसैबीच, पक्राउ परेलगत्तै उनीहरूलाई छुटाउन स्थानीय तथा प्रदेश तहका केही राजनीतिक कार्यकर्ता र प्रभावशाली व्यक्तिहरूले विभिन्न माध्यमबाट दबाब दिने प्रयास गरेको स्रोतको दाबी छ। यद्यपि, यस विषयमा प्रहरीले औपचारिक प्रतिक्रिया दिएको छैन।
प्रहरीले भने अनुसन्धान कानुनी प्रक्रिया अनुसार निष्पक्ष रूपमा अघि बढिरहेको र कुनै पनि व्यक्ति वा समूहको दबाब तथा प्रभावमा नपरी कारबाही गरिने जनाएको छ। कसुर पुष्टि भए कानुनबमोजिम कारबाही हुने प्रहरीले स्पष्ट पारेको छ।
पक्राउ परेका प्रसाईं कुचो व्यवसायी हुन् भने लिम्बू र राजबंशी व्यवसायमा संलग्न रहेको बताइएको छ। होटल सञ्चालकसमेत पक्राउ परेपछि होटललाई जुवा खेलाउन प्रयोग गरिएको थियो वा थिएन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापामा पछिल्लो समय जुवा नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ। जिल्लाका विभिन्न स्थानमा गोप्य सूचनाका आधारमा छापा मार्ने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *