cURL Error: 0 उत्कृष्ट विद्यालय बन्दै तक्षशिला : अन्तर्राष्ट्रिय सहकार्यदेखि गुणस्तरीय शिक्षासम्मको यात्रा - पूर्व खबर

उत्कृष्ट विद्यालय बन्दै तक्षशिला : अन्तर्राष्ट्रिय सहकार्यदेखि गुणस्तरीय शिक्षासम्मको यात्रा

राजकुमार ओली,असार १७  — झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर, विद्यार्थी नेतृत्व विकास, प्रविधिमैत्री शिक्षण र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्दै आफूलाई उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्ने प्रयासलाई तीव्र बनाएको छ।

यसैक्रममा विद्यालयले क्याम्ब्रिज इङ्लिस एजुकेशनल पार्टनर (CEEP) घोषणा गर्दै न्यूजिल्याण्डको थ्रीडीआई (3DI) सँग रणनीतिक शैक्षिक सहकार्यको सम्झौता गरेपछि विद्यालयको शैक्षिक यात्राले नयाँ आयाम प्राप्त गरेको छ।
विद्यालयमा आयोजित इन्भेष्टिचर समारोह–२०८३ मा विद्यार्थी परिषद्को पद तथा गोपनीयताको शपथग्रहणसँगै क्याम्ब्रिज इङ्लिस एजुकेशनल पार्टनर घोषणा तथा दुई अन्तर्राष्ट्रिय संस्थासँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो। विद्यालयका अनुसार यी सहकार्यले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको भाषा शिक्षा, आधुनिक शिक्षण प्रणाली तथा विश्वव्यापी प्रतिस्पर्धाका लागि आवश्यक सीप विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।
समारोहमा एलसीसीआई जीक्यूका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् नेपाल–बेलायत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले विद्यालयलाई क्याम्ब्रिज इङ्लिस एजुकेशनल पार्टनरको आधिकारिक प्लाक हस्तान्तरण गरेका थिए। विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की तथा शैक्षिक निर्देशक डा. भिक्टर इग्रेसियस जोसेफले उक्त मान्यतालाई विद्यालयका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
त्यसै अवसरमा तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल र क्याम्ब्रिज इङ्लिसबीच तथा विद्यालय र न्यूजिल्याण्डको थ्रीडीआईबीच छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो। विद्यालयका अनुसार यस सहकार्यमार्फत विद्यार्थीको अंग्रेजी भाषा दक्षता अभिवृद्धि, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिकाइ प्रणालीको विस्तार, डिजिटल प्रविधिको उपयोग तथा भविष्यमुखी शिक्षामा जोड दिइनेछ।
विद्यालयले शिक्षणलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक र सीपमूलक बनाउने प्रयास गरिरहेको जनाएको छ। समारोहका क्रममा विद्यार्थीले भर्चुअल रियालिटी (भीआर), थ्रीडी प्रिन्टिङ, ड्रोन प्रविधि, रोबोटिक्सलगायतका परियोजना प्रदर्शन गरेका थिए। यस्ता गतिविधिले विद्यार्थीको सिर्जनात्मक क्षमता, अनुसन्धानमूलक सोच र व्यवहारिक ज्ञान विकासमा टेवा पुग्ने विश्वास विद्यालयले लिएको छ।
इन्भेष्टिचर समारोहमार्फत नवनिर्वाचित विद्यार्थी परिषद्लाई नेतृत्व, अनुशासन, उत्तरदायित्व र सामाजिक सेवाप्रतिको भावना विकास गर्न प्रेरित गरिएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार नेतृत्व विकासलाई औपचारिक शिक्षासँग जोडेर विद्यार्थीलाई जिम्मेवार नागरिकका रूपमा तयार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव तीलचन्द भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले विद्यालयले आधुनिक, गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षण प्रणाली अपनाएको भन्दै यसले स्थानीय तहको शैक्षिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
नेपाल सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) अम्बिका प्रसाद जोशीलगायतले पनि शुभकामना मन्तव्य राख्दै अनुशासन, नैतिकता र नेतृत्व विकाससँगै प्रविधिमैत्री शिक्षाले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने धारणा राखेका थिए।
विद्यालयको बढ्दो शैक्षिक प्रतिष्ठाले अभिभावकको विश्वाससमेत बढ्दै गएको देखिन्छ। बिर्तामोड–३ का राजु श्रेष्ठ आफ्ना छोरा र छोरी दुवैलाई तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलमै अध्ययन गराइरहेका छन्। उनका अनुसार छोराछोरी नै अभिभावकको सबैभन्दा ठूलो सम्पत्ति हुन् र उनीहरूको गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु प्रत्येक बुवाआमाको पहिलो जिम्मेवारी हो।
“हामीले जीवनभर कमाएको सम्पत्ति भनेको छोराछोरी नै हुन्। उनीहरूको भविष्य राम्रो बनाउन सके मात्रै हाम्रो मेहनत सफल हुन्छ,” श्रेष्ठले भने, “नेपालकै उत्कृष्ट विद्यालयमध्ये तक्षशिला रहेको भन्ने जानकारी पाएपछि मैले आफ्ना दुवै सन्तानलाई यही विद्यालयमा भर्ना गरेको हुँ।”
उनले विद्यालयले केवल परीक्षा केन्द्रित शिक्षा नभई अनुशासन, नैतिकता, नेतृत्व, प्रविधि र अन्तर्राष्ट्रिय स्तरको सिकाइमा जोड दिएकाले आफू सन्तुष्ट रहेको बताए। “आजको प्रतिस्पर्धी संसारमा किताब मात्रै पढाएर पुग्दैन। व्यवहारिक ज्ञान र विश्वस्तरीय अवसर पनि चाहिन्छ। तक्षशिलाले त्यही वातावरण बनाइरहेको महसुस भएको छ,” उनले भने।
शिक्षाविद्का अनुसार पछिल्लो समय निजी विद्यालयबीच गुणस्तरीय शिक्षाका लागि प्रतिस्पर्धा बढिरहेको छ। यस्ता विद्यालयले अन्तर्राष्ट्रिय साझेदारी, आधुनिक प्रविधि र विद्यार्थीकेन्द्रित सिकाइलाई प्राथमिकता दिन थालेका छन्। त्यसले नेपाली विद्यार्थीलाई विश्वव्यापी अवसरसँग जोड्ने सम्भावना बढाएको उनीहरूको भनाइ छ।
विद्यालयका प्रवक्ता प्रमिश गिरीले अन्तर्राष्ट्रिय सहकार्य कुनै औपचारिक उपलब्धि मात्र नभई विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए। उनका अनुसार विद्यालयले आगामी दिनमा पनि विश्वस्तरीय संस्थासँग सहकार्य विस्तार गर्दै विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्य राखेको छ।
उनले भने, “हामी विद्यार्थीलाई केवल राम्रो नतिजा ल्याउने होइन, भविष्यका जिम्मेवार, सिर्जनशील र विश्वस्तरीय नागरिक बनाउने उद्देश्यका साथ अघि बढिरहेका छौं।”
तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले पछिल्ला वर्षहरूमा शैक्षिक सुधार, नेतृत्व विकास, प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सहकार्य तथा अभिभावकको विश्वासलाई आधार बनाएर आफ्नो पहिचान विस्तार गरिरहेको छ। क्याम्ब्रिज इङ्लिस एजुकेशनल पार्टनरको मान्यता र न्यूजिल्याण्डको थ्रीडीआईसँगको सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण ठानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *