राजकुमार ओली, असार १७ — बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई विस्तार गर्दै क्याम्ब्रिज इङ्लिश एजुकेशनल पार्टनर घोषणा गरेको छ।
विद्यालयमा आयोजित इन्भेष्टिचर समारोहका अवसरमा क्याम्ब्रिज इङ्लिश एजुकेशनल पार्टनर घोषणा तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौताहरू सम्पन्न भएको विद्यालयका प्रवक्ता प्रमिश गिरीले जानकारी दिए।
समारोहमा एलसीसीआइका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं नेपाल–बेलायत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की र शैक्षिक निर्देशक डा. भिक्टर इग्रेसियस जोसेफलाई क्याम्ब्रिज इङ्लिश एजुकेशनल पार्टनरको आधिकारिक प्लाक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बिर्तामोड नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव तीलचन्द भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै, नेपाल सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) अम्बिका प्रसाद जोशीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सहकार्यमार्फत गुणस्तरीय शिक्षामा नयाँ आयाम थपेको बताएका थिए।
विद्यालयका अनुसार उक्त सहकार्यले विद्यार्थीको अंग्रेजी भाषा दक्षता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षण–सिकाइ प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



