राजकुमार ओली , असार १४ (पुर्व खबर) – पूर्वी नेपालको प्रमुख व्यापारिक र पर्यटन प्रवेशद्वारका रूपमा रहेको झापामा अन्तर्राष्ट्रियस्तरका होटल परियोजनामा लगानी तीव्र रूपमा बढ्न थालेको छ। भारतसँग जोडिएको काँकडभिट्टा नाका, चन्द्रगढी विमानस्थल, चिया बगान, धार्मिक तथा पर्यटकीय गन्तव्यको बढ्दो आकर्षणसँगै झापामा पाँचतारे होटल निर्माणको प्रतिस्पर्धा नै सुरु भएको छ।
यसक्रममा मेचीनगर–१० धुलाबारीमा निर्माणाधीन ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ होटलको स्वामित्व परिवर्तनले झापाको होटल क्षेत्रमा नयाँ चर्चा सुरु भएको छ। पूर्वऊर्जामन्त्री दीपक खड्काको परिवारको लगानी रहेको होटल इस्टर्न नेपाल लिमिटेडको स्वामित्व व्यवसायी राजेश कुमार सोनीले ग्रहण गरेपछि परियोजनाले नयाँ नेतृत्व पाएको हो।
करीब तीन अर्ब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना अन्तर्राष्ट्रिय होटल समूह आईएचजी (IHG) अन्तर्गत ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ ब्रान्डमा सञ्चालन हुने तयारीमा छ। होटलमा ९९ वटा आधुनिक कोठा, बहुउद्देश्यीय सभाहल, रेष्टुरेन्ट, फिटनेस सेन्टर, रूफटप सुविधा तथा अन्तर्राष्ट्रियस्तरका सेवा उपलब्ध हुने जनाइएको छ।
निर्माणको अन्तिम चरणमा पुगेको होटल सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा व्यापार, सम्मेलन, वैवाहिक कार्यक्रम तथा भारतीय पर्यटक लक्षित सेवा विस्तार हुने अपेक्षा गरिएको छ। होटल व्यवस्थापनले चालु आर्थिक वर्षभित्रै सञ्चालनको तयारी गरिरहेको जनाएको छ।
यस परियोजनासँगै झापामा अर्को पाँचतारे परियोजनाको पनि काम अघि बढिरहेको छ। मेचीनगर क्षेत्रमा नै वेदालय ग्रुपले ‘सोल्टी होटल्स एन्ड रिसोर्ट्स’ ब्रान्डअन्तर्गत १८० कोठाको पाँचतारे होटल निर्माण प्रक्रिया अघि बढाएको छ। उक्त परियोजनाले पूर्वी नेपालमा उच्चस्तरीय आतिथ्य सेवाको विस्तार गर्ने विश्वास गरिएको छ।
पर्यटन व्यवसायीका अनुसार झापामा होटल क्षेत्रमा लगानी बढ्नुका पछाडि भारतसँगको खुला सीमा, काँकडभिट्टा नाकाबाट हुने दैनिक आवागमन, चन्द्रगढी विमानस्थलको विस्तार, पूर्व–पश्चिम राजमार्ग र एसियाली राजमार्गको पहुँच मुख्य कारण हुन्। भारतको सिलिगुडी, दार्जिलिङ, कालिम्पोङ तथा बागडोगरा विमानस्थलसँगको निकटताले पनि झापालाई होटल व्यवसायका लागि आकर्षक गन्तव्य बनाएको छ।
व्यापारिक गतिविधि बढेसँगै झापामा सम्मेलन, गोष्ठी, विवाह, कर्पोरेट कार्यक्रम तथा मेडिकल पर्यटनको सम्भावना पनि विस्तार हुँदै गएको व्यवसायीहरूको भनाइ छ। यसले अन्तर्राष्ट्रिय ब्रान्डका होटललाई पूर्वी नेपालमा लगानी विस्तार गर्न थप उत्साहित बनाएको छ।
यद्यपि, होटल क्षेत्रमा चुनौती पनि उत्तिकै छन्। निर्माण लागत वृद्धि, बैंक ऋणको उच्च भार, सञ्चालन खर्च, दक्ष जनशक्तिको अभाव तथा पर्यटक आगमनमा आउने उतारचढावले परियोजनाको दीर्घकालीन सफलतामा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ। होटल इस्टर्न नेपालको परियोजनामा पनि उच्च ऋण अनुपात, लागत वृद्धि तथा सञ्चालन ढिलाइ प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।
पर्यटनविद्हरूका अनुसार झापामा अन्तर्राष्ट्रिय ब्रान्डका होटल सञ्चालनमा आएपछि पूर्वी नेपालमा पर्यटनको नयाँ केन्द्र विकास हुने सम्भावना बढेको छ। इलाम, ताप्लेजुङ, पाँचथर, भद्रपुर, काँकडभिट्टा, चिया पर्यटन, धार्मिक पर्यटन तथा सीमापार व्यापारसँग होटल व्यवसाय प्रत्यक्ष रूपमा जोडिने अपेक्षा गरिएको छ।
झापामा यसअघि नै मिड–स्केल र डिलक्स होटल सञ्चालनमा रहे पनि अन्तर्राष्ट्रिय ब्रान्डका पाँचतारे होटल सञ्चालनमा आएपछि पूर्वी नेपालको पर्यटन पूर्वाधारले नयाँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ। यसले रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत, कर राजस्व वृद्धि तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
सरकारले पूर्वी नेपाललाई पर्यटन र लगानीको नयाँ केन्द्रका रूपमा विकास गर्ने नीति लिइरहेका बेला निजी क्षेत्रको अर्बौं रुपैयाँको लगानीले झापाको होटल उद्योगलाई नयाँ चरणमा पुर्याउने संकेत देखिएको छ। आगामी केही वर्षभित्र निर्माणाधीन परियोजना सञ्चालनमा आएपछि झापा केवल व्यापारिक नाका मात्र नभई अन्तर्राष्ट्रियस्तरको आतिथ्य गन्तव्यका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ।



