cURL Error: 0 खोटाङका तीन विद्यालयमा दलित अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न - पूर्व खबर

खोटाङका तीन विद्यालयमा दलित अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

राजकुमार ओली,खोटाङ, असार १० — खोटाङको जन्तेढुंगा गाउँपालिकाका तीन विद्यालयमा सञ्चालित दलित महिला लक्षित जातीय विभेद तथा छुवाछूत उन्मूलन एवं दलित अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जन्तेढुंगा गाउँपालिका–५ स्थित चिसापानी माध्यमिक विद्यालय, वडा नं ३ स्थित लक्ष्मी माध्यमिक विद्यालय काहुले र वडा नं ४ स्थित जलेश्वरी माध्यमिक विद्यालय डम्बरखुशिवालयमा कार्यक्रम सञ्चालन गरिएको हो।

असार ८ गते गाउँपालिका अध्यक्ष अरुणादेवी राईको प्रमुख आतिथ्यतामा चिसापानी माध्यमिक विद्यालयबाट सुरु भएको कार्यक्रम असार ९ गते लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो। तीनदिने कार्यक्रमको आज जलेश्वरी माध्यमिक विद्यालयमा समापन गरिएको हो।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले जातीय विभेद र छुवाछूत अन्त्य गरी समतामूलक समाज निर्माणका लागि स्थानीयस्तरमै जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताइन्।

उनले नयाँ मुलुकी ऐन, २०२० ले छुवाछूत उन्मूलनको व्यवस्था गरेको तथा नेपालको संविधानको धारा ४० ले दलित समुदायको हक स्थापित गरेको उल्लेख गरिन्। कानुनी व्यवस्था हुँदाहुँदै पनि समाजमा जातीय विभेद र छुवाछूतका घटना पूर्णरूपमा अन्त्य हुन नसकेकाले विद्यालयस्तरबाटै सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ थियो।

जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग तथा महिला एकता अध्ययन केन्द्र खोटाङको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको समापन महिला एकता अध्ययन केन्द्र खोटाङकी अध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य दुर्गा जयन्ती राईको अध्यक्षतामा भएको थियो।

समापन कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष विदुरमान राई, वडा सदस्य अमर रोइला, लक्ष्मीदेवी राई, दलित महिला सदस्य धनुका परियार, जलेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष खड्का तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश भूजेललगायतको उपस्थिति थियो।

वडा नं ३, ४ र ५ का जनप्रतिनिधि, समाजसेवी, शिक्षक तथा विद्यार्थी सहभागी कार्यक्रममा अधिवक्ता सानु कार्की बस्नेतले सहजीकरण गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *