cURL Error: 0 प्लाई उद्योगले नाला बन्द गरेपछि चैतुबारिको बस्ती डुबानमा-स्थानीयले दिए उद्योग बन्द गर्न चेतावनी - पूर्व खबर

प्लाई उद्योगले नाला बन्द गरेपछि चैतुबारिको बस्ती डुबानमा-स्थानीयले दिए उद्योग बन्द गर्न चेतावनी

राजकुमार ओली
बिर्तामोड, असार ९

झापाको बिर्तामोड नगरपालिका–२ स्थित चैतुबारी क्षेत्र यतिबेला डुबान, पानी निकास र औद्योगिक संरचनासँग जोडिएको विवादका कारण चर्चामा छ। वर्षौंदेखि प्रयोग हुँदै आएको प्राकृतिक पानी निकास अवरुद्ध भएको स्थानीयको आरोपपछि असार ३ गतेको वर्षापछि आएको बाढी बस्तीमा पसेको थियो। डुबानका कारण करिब १२० परिवार प्रभावित बनेपछि स्थानीयवासी आफैं पानी निकास खुलाउन मैदानमा उत्रिएका थिए।

स्थानीयका अनुसार प्लाई उद्योग, अक्सिजन उद्योग तथा पछिल्लो समय स्थापना भएका अन्य औद्योगिक संरचनाले पुरानो पहिनी तथा पानी बग्ने प्राकृतिक मार्ग अवरुद्ध बनाएका कारण वर्षाको पानी बस्तीभित्र पस्न थालेको हो। डुबानको अवस्था गम्भीर बनेपछि स्थानीयले कच्ची सडक काटेर पानी निकास खुलाएका थिए। तर यही विषयलाई लिएर उद्योग सञ्चालक र स्थानीयबीच विवाद उत्पन्न भएको छ।

चैतुबारी टोल विकास संस्थाका सचिव रञ्जित सिंह राजवंशीका अनुसार पानी निकासको प्राकृतिक मार्ग बन्द भएपछि बस्तीका घरहरूमा पानी पस्न थालेको थियो। “बालबालिका, ज्येष्ठ नागरिक र पशुचौपायासमेत जोखिममा परेपछि हामीले तत्काल निकास खोल्नुपर्ने अवस्था आयो। घरभित्र पानी भरिन थालेपछि स्थानीयवासी मिलेर सडक काटेर पानी बगाउने व्यवस्था गरेका हौं,” उनले बताए।

स्थानीयवासीहरूका अनुसार यो समस्या एक वर्षको मात्र नभई विगत केही वर्षदेखि क्रमशः बढ्दै गएको हो। पहिले उक्त क्षेत्रमा रहेको पहिनी हुँदै वर्षाको पानी सहज रूपमा बग्ने गरेको उनीहरूको भनाइ छ। तर उद्योग स्थापना, जमिन प्लटिङ र पर्खाल निर्माणका कारण निकास क्षेत्र साँघुरिँदै जाँदा अहिले बस्ती नै डुबानको जोखिममा परेको स्थानीयको दाबी छ।

डुबानको समयमा स्थानीय युवा पारस संग्रौला, घनश्याम पौडेललगायत दर्जनौं स्थानीयवासी रातदिन खटिएका थिए। बस्तीमा पानी पस्न थालेपछि उनीहरूले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई सुरक्षित स्थानमा सार्नेदेखि लिएर पानी निकास खुलाउने काममा सक्रिय भूमिका निर्वाह गरेका थिए।

स्थानीय अगुवा पारस संग्रौलाले उद्योग स्थापना गर्दा स्थानीय जनजीवनमा पर्ने प्रभावलाई बेवास्ता गरिएको आरोप लगाए। “हामी कसैको निजी सम्पत्तिमा क्षति पुर्‍याउन गएका होइनौं। हाम्रो उद्देश्य बस्ती बचाउने थियो। वर्षाको पानी घरभित्र पसिरहेको अवस्थामा चुप लागेर बस्न सक्ने अवस्था थिएन,” उनले भने। उनले उद्योग सञ्चालकहरूलाई आगामी दिनमा बस्ती डुबाएर व्यवसाय सञ्चालन नगर्न आग्रह गर्दै प्राकृतिक पानी निकास कायम राख्नुपर्ने बताए।

तर स्थानीयले सडक काटेर निकास खोलेको विषयलाई लिएर नजिकै रहेको शंकर अक्सिजन उद्योगका सञ्चालक शक्तिकुमार मल्लिकले प्रहरीमा उजुरी दिएका छन्। उद्योगतर्फ जाने बाटो अवरुद्ध पारिएको भन्दै उनले कानुनी कारबाहीको माग गरेका हुन्।

मल्लिकले भने आफूले उक्त जग्गा खरिद गर्दा त्यहाँ कुनै नाला वा पानी निकासको संरचना नरहेको दाबी गरे। “मैले कानुनी रूपमा खरिद गरेको जग्गामा पक्का कम्पाउन्ड वाल लगाएर उद्योग सञ्चालन गरेको हुँ। तर अहिले समस्या देखिएको छ भने समाधानका लागि आवश्यक नाला खन्ने र पानी निकासको व्यवस्था गर्न तयार छु,” उनले बताए।

उजुरीपछि इलाका प्रहरी कार्यालय अनारमनीमा स्थानीयवासी तथा जेसीबी चालकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी सार्वजनिक भएपछि स्थानीयहरू थप आक्रोशित बनेका छन्। उनीहरूको प्रश्न छ—“बस्ती डुबाउने संरचना बनाउनेलाई होइन, बस्ती बचाउन खोज्नेलाई किन कारबाही ?”

स्थानीयको आरोपअनुसार उद्योगहरूले पुरानो नक्सामा रहेको पानी निकास क्षेत्र तथा पहिनीलाई आरसीसी पर्खाल निर्माण गरेर बन्द गरेका छन्। त्यसका कारण वर्षायाममा पानीको प्राकृतिक बहाव रोकिएर बस्तीमा डुबान हुने गरेको उनीहरूको भनाइ छ।

चैतुबारीका ज्येष्ठ नागरिकहरूका अनुसार दशकौंअघि यो क्षेत्र खुला कृषि भूमि थियो। वर्षाको पानी निश्चित मार्ग हुँदै बगेर बाहिर निस्कन्थ्यो। तर पछिल्ला वर्षहरूमा तीव्र रूपमा भएको प्लटिङ, औद्योगिक संरचना निर्माण तथा निकास क्षेत्र अतिक्रमणका कारण समस्या जटिल बन्दै गएको छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा विगत करिब २५ वर्षअघि दीपक इटा उद्योग सञ्चालनमा थियो। पछि स्थानीयको विरोधपछि इट्टाभट्टा बन्द भयो। त्यसपछि प्लटिङ गरिएको जमिनमा विभिन्न उद्योग स्थापना गरिए। उद्योग विस्तारसँगै प्राकृतिक निकास प्रणाली प्रभावित भएको स्थानीयको दाबी छ।

विवाद चर्किएपछि स्थानीयवासीको आग्रहमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले स्थलगत अनुगमन गरेका थिए। उद्योग क्षेत्र तथा डुबान प्रभावित बस्तीको निरीक्षणपछि उनले तत्काल पानी निकास खुलाउन उद्योग पक्षलाई आग्रह गरेका छन्।

अनुगमनका क्रममा केही उद्योगले आरसीसी पर्खाल निर्माण गरेर पुरानो पहिनी अवरुद्ध गरेको देखिएको भन्दै उपप्रमुख संग्रौलाले उद्योग परिसरभित्रबाटै जेसीबी प्रयोग गरी नाला कटान गरेर पानीको निकास खुलाउन निर्देशन दिएका छन्।

“बस्तीभन्दा पछि स्थापना भएका उद्योगले स्थानीयको जीवनलाई जोखिममा पार्ने गरी संरचना निर्माण गर्न मिल्दैन,” उपप्रमुख संग्रौलाले भने, “उद्योग आवश्यक छन्, रोजगारी र आर्थिक गतिविधिका लागि महत्वपूर्ण पनि छन्। तर उद्योगको फाइदाका लागि नागरिक डुबानमा पर्नु हुँदैन। नगरपालिका सबैभन्दा पहिले नागरिकको सुरक्षा र बस्तीको संरक्षणप्रति जिम्मेवार छ।”

उनले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन गरी पुरानो पानी निकास प्रणालीको पहिचान गर्ने, अवरुद्ध क्षेत्र खुलाउने तथा आवश्यक परे नयाँ निकास संरचना निर्माण गर्ने विषयमा नगरपालिकाले पहल गर्ने जानकारी दिए।

उपप्रमुख संग्रौलाका अनुसार नगरपालिकाले प्लाई उद्योग, अक्सिजन उद्योग तथा अन्य उद्योगका प्रतिनिधिहरूसँग छलफल गरी स्थायी समाधान खोज्ने प्रक्रिया अघि बढाएको छ। “समस्या समाधानका लागि उद्योग, स्थानीयवासी र नगरपालिका सबै पक्ष एक ठाउँमा बस्नुपर्छ। मनसुन सुरु भइसकेको अवस्थामा तत्काल निकास व्यवस्थापन गर्नु अहिलेको प्राथमिकता हो,” उनले बताए।

यता प्रहरीले घटनाबारे अध्ययन भइरहेको जनाएको छ। दुवै पक्षका दाबी, स्थानीयको गुनासो तथा उद्योग पक्षको उजुरीलाई आधार बनाएर वास्तविक अवस्था बुझ्ने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ।

मनसुन भर्खर सुरु भएको अवस्थामा आगामी दिनमा थप वर्षा भए डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्ता छ। त्यसैले पुरानो पहिनी तत्काल खुलाउन, निकास अवरुद्ध गर्ने संरचनाको प्राविधिक परीक्षण गर्न तथा दीर्घकालीन पानी निकास व्यवस्थापन योजना लागू गर्न उनीहरूले माग गरेका छन्।

स्थानीयवासीको संघर्षपछि अहिले पानीको बहाव केही सहज बनेको भए पनि चैतुबारीवासी स्थायी समाधानको प्रतीक्षामा छन्। उनीहरूको भनाइमा, प्राकृतिक निकासको संरक्षण र योजनाबद्ध विकासबिनाको औद्योगिक विस्तारले भविष्यमा यस्ता समस्या अझ गम्भीर बन्न सक्ने खतरा कायमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *