cURL Error: 0 उत्कृष्ट कार्यले सफल बन्दै एसपी खड्का, लागुऔषध नियन्त्रणमा झापा प्रहरीको सक्रियता - पूर्व खबर

उत्कृष्ट कार्यले सफल बन्दै एसपी खड्का, लागुऔषध नियन्त्रणमा झापा प्रहरीको सक्रियता

 

राजकुमार ओली काठमाडौं, २३ साउन (बाटिका अनलाइन)
झापा जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा शान्तिसुरक्षा व्यवस्थापनमा सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले सम्हालेपछि प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउँदै जिल्लामा शान्तिसुरक्षा सुदृढ गर्ने तथा अपराध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ।
नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार एसपी खड्काले २०८२ माघ १० गतेदेखि जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्नुभएको हो। झापाको पहिलो महिला प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएकी खड्काले निष्पक्ष, भयरहित र कानुनसम्मत प्रहरी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म लागुऔषधसम्बन्धी २ सय ७७ मुद्दा दर्ता भएका छन् भने ४ सय ८२ जनालाई पक्राउ गरिएको छ। सो अवधिमा प्रहरीले तीन किलो ३ सय ७९ ग्राम २ सय ७५ मिलिग्राम ब्राउन सुगर, चार किलो २ सय ४९ ग्राम ३ सय १० मिलिग्राम गाँजा तथा एक लाख तीन हजार ३ सय ५१ ट्याब्लेट र एक लाख छ हजार ९ सय ८ क्याप्सुल बरामद गरेको जनाएको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा झापामा लागुऔषधसम्बन्धी २ सय ९० मुद्दा दर्ता भएका थिए। ती मुद्दामा ४ सय १५ जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा ३ सय ६५ पुरुष, ४६ महिला र चार भारतीय नागरिक रहेका थिए। यसरी हेर्दा चालु आर्थिक वर्षको वैशाखसम्ममै पक्राउ पर्ने व्यक्तिको सङ्ख्या अघिल्लो आर्थिक वर्षको कुल सङ्ख्याभन्दा बढी पुगेको देखिन्छ।
लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै झापा प्रहरीले पछिल्लो समय विशेष अभियानसमेत सञ्चालन गर्दै आएको छ। गत असारमा जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका प्रहरी एकाइबाट परिचालित टोलीले जिल्लाका विभिन्न स्थानमा ‘स्वीप अपरेसन’ सञ्चालन गर्दा ९२ जनालाई नियन्त्रणमा लिएको थियो। त्यसमध्ये ८३ जना प्रयोगकर्ता र नौ जना कारोबारी रहेको प्रहरीले जनाएको थियो।
यसअघि वैशाखमा सञ्चालन गरिएको विशेष अभियानमा एकै दिन ६२ जना पक्राउ परेका थिए। यस्ता अभियानले लागुऔषधको कारोबार तथा सेवन हुने सम्भावित क्षेत्र पहिचान गरी प्रहरी परिचालनलाई लक्षित बनाउन सहयोग पुगेको प्रहरीको भनाइ छ।
पछिल्लो पटक शुक्रबार पनि झापाको कनकाई र अर्जुनधाराबाट चार जनासहित देशका विभिन्न स्थानबाट लागुऔषधसम्बन्धी अभियोगमा २० जना पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित होटल तथा लजबाट तीन जना र कनकाई नगरपालिका–४ कोटीहोमबाट एक जना पक्राउ परेको प्रहरीको विवरणमा उल्लेख छ। देशका विभिन्न जिल्लामा भएको कारबाहीमा समेत प्रतिबन्धित तथा चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने औषधिसहित व्यक्तिहरू पक्राउ परेका छन्।
झापा नेपाल–भारत सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ लागुऔषध नियन्त्रण प्रहरीका लागि निरन्तर चुनौतीका रूपमा रहेको छ। खुला सीमाका कारण हुने अवैध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्र, राजमार्ग, बजार तथा शङ्कास्पद स्थानमा प्रहरी निगरानी बढाइएको छ। प्रहरीका विभिन्न इकाइबीच समन्वय गरी सूचना सङ्कलन, निगरानी र कारबाहीलाई सँगसँगै अघि बढाइएको छ।
एसपी खड्काले जिम्मेवारी सम्हालेपछि निर्वाचन सुरक्षा पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी बनेको थियो। झापा राजनीतिक रूपमा संवेदनशील जिल्ला भएकाले निर्वाचनका समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी एकीकृत सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको थियो। प्रहरी नेतृत्वले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने विषयलाई प्राथमिकतामा राखेको थियो।
निर्वाचनको समयमा सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न प्रहरीका विभिन्न एकाइलाई परिचालन गरिएको थियो। उम्मेदवार, मतदानस्थल तथा संवेदनशील क्षेत्रको जोखिम मूल्याङ्कन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नेतृत्वले जनाएको थियो। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि एसपी खड्काको नेतृत्वमा गरिएको सुरक्षा व्यवस्थापनको समेत चर्चा भएको थियो।
लागुऔषध नियन्त्रणसँगै फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई पनि झापा प्रहरीले प्राथमिकता दिएको छ। अदालतबाट फैसला भई फरार रहेका तथा विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका व्यक्तिको खोजी तथा पक्राउका लागि विशेष टोली परिचालन गरिएको छ। अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउने, घटनाको सूचना तत्काल प्राप्त गर्ने र अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनेतर्फ प्रहरीले जोड दिएको छ।
झापामा प्रहरीको सक्रियता पछिल्लो एक वर्षको तथ्याङ्कले पनि देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी २ सय ९० मुद्दा दर्ता भई ४ सय १५ जना पक्राउ परेको तथ्याङ्कले जिल्लामा लागुऔषधको समस्या गम्भीर रहेको देखाउँछ। चालु आर्थिक वर्षको वैशाखसम्म २ सय ७७ मुद्दामा ४ सय ८२ जना पक्राउ पर्नुले प्रहरीको कारबाही तीव्र भएको संकेत गर्छ। यद्यपि मुद्दा र पक्राउको सङ्ख्या बढ्नु मात्रलाई अपराध बढेको वा घटेको अन्तिम सूचकका रूपमा नभई प्रहरी कारबाहीको सक्रियतासँग समेत जोडेर हेर्नुपर्ने प्रहरी अधिकारीहरूको भनाइ छ।
एसपी खड्काले आफू झापामा रहँदासम्म कुनै दबाब, प्रभाव वा पक्षपातमा नपरी कानुनअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अपराध गर्ने व्यक्ति जोसुकै भए पनि कानुनको दायरामा ल्याउने उहाँको सार्वजनिक अभिव्यक्ति छ।
प्रहरीको पछिल्लो सक्रियताले लागुऔषध नियन्त्रणसँगै अपराध अनुसन्धानमा थप समुदायको सहयोग आवश्यक देखिएको छ।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडका अध्यक्ष देवी संग्रौलाका अनुसार नेपालको खुला सिमाना र बिहार बङ्गालसँग जोडिएको कारणले पनि झापा निकै महत्वपूर्ण र जोखिम जिल्ला बनेको छ। यही खुला सिमानाको फाइदा उठाउँदै कार्यालयहरूले फाइदा उठाइरहेको अवस्थामा नेपाल प्रहरीको भूमिका को साथमा नागरिक र सामुदायिक प्रहरी सँगसँगै हिँड्न नसक्ने हो भने पछिल्लो नेपालको अवस्था भयावह देखिएको देवी संग्रौलाको अनुभव छ।
झापा जिल्लामा गत माघबाट पहिलोपल्ट पाएको महिला प्रमुख प्रहरी अफिसरको कारणले पनि झापाको शान्ति सुरक्षा र अपराधका न्यूनीकरणका अभ्यासमा एसपी खड्काको भूमिका र कामहरु महत्वपूर्ण देखिएको मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुख्य पौडेलले बताए।।
खुला सिमाना विगत लामो समयदेखि देखिएको नाकाको तस्करी र अपराध न्यूनीकरणमा प्रहरीको पछिल्ला घटनाक्रमले सहजता स्थानीय बासीहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *