राजकुमार ओली,मेचीनगर, ११असार (पूर्व खबर)— मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको दोस्रो नगरसभाको नवौं अधिवेशनमा बुधबार नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्षको प्रस्तावित बजेट प्रस्तुत गरेकी हुन्।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहरी पूर्वाधार विकास, डिजिटल प्रविधिको विस्तार, बालमैत्री नगर निर्माण तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताए।
उनले सडक, ढल तथा नाला, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासका क्षेत्रमा बजेट केन्द्रित गरिने बताए।
प्रमुख प्रशासकीय अधिकृत सुभाष श्रेष्ठले सहरी विकास आयोजना, अपाङ्गता भएका बालबालिका तथा अटिजम भएका बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको जानकारी दिए।
उनका अनुसार डिजिटल प्रणाली विकास, मानसिक स्वास्थ्य समस्या भएका नागरिकलाई मनोसामाजिक सेवामार्फत थप सहयोग तथा नगरपालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्यक्रम पनि बजेटमा समेटिएको छ।
नगरसभामा प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि नगरसभा सदस्यहरूले छलफल गर्ने नगरपालिकाले जनाएको छ।
नगरसभामा नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, मेचीनगरका १५ वटै वडाका वडाध्यक्ष, शाखा प्रमुख, कर्मचारी तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो।



