cURL Error: 0 मुक्तिचोकमै बलात्कार, १८ वर्षीया युवती प्रहरीमा न्याय खोज्दै, - पूर्व खबर

मुक्तिचोकमै बलात्कार, १८ वर्षीया युवती प्रहरीमा न्याय खोज्दै,

राजकुमार ओली बिर्तामोड,(पूर्व खबर) : झापाको व्यापारिक केन्द्र बिर्तामोडमा पछिल्ला महिनाहरूमा लागूऔषध दुर्व्यसनसँगै बलात्कार, लुटपाट, चोरी, कुटपिट र सार्वजनिक अपराधका घटना बढ्न थालेपछि स्थानीयवासीमा सुरक्षा चिन्ता बढेको छ। शनिबार राति बिर्तामोड–४ को हनुमान कम्प्लेक्स क्षेत्रमा १८ वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको आरोपमा एक व्यक्ति पक्राउ परेपछि फेरि बिर्तामोडको सुरक्षा अवस्था चर्चामा आएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शनिबार राति करिब ९ बजे युवतीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। पीडित युवती राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनी पुगेकी थिइन्। त्यसपछि उनलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।
आइतबार बिहान पीडितलाई बिर्तामोड– ५ मा स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा इलामको पशुपतिनगर नगरपालिका–२ घर भई हाल बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पालाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
पछिल्ला केही सातायता बिर्तामोड र आसपासका क्षेत्रमा लागूऔषध कारोबार, दुर्व्यसन, चोरी, सार्वजनिक अपराध र महिलामाथि हुने हिंसाका घटना क्रमशः सार्वजनिक भइरहेका छन्। केही दिनअघि मात्रै प्रहरीले आठ घण्टाको विशेष अभियान सञ्चालन गरी लागूऔषध कारोबारमा संलग्न सात जना र २९ जना प्रयोगकर्तासहित ३६ जनालाई पक्राउ गरेको थियो। यसले बिर्तामोडमा लागूऔषधको समस्या कति गम्भीर बन्दै गएको छ भन्ने देखाएको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय अनारमनीको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा लागूऔषध सम्बन्धी मुद्दा, सार्वजनिक अपराध र महिला तथा बालबालिकामाथिका हिंसाका उजुरी बढ्दो क्रममा रहेका छन्। प्रहरीका अनुसार धेरैजसो आपराधिक घटनामा लागूऔषध सेवन, मदिरा सेवन, अस्वस्थ संगत तथा सामाजिक उत्तरदायित्वको अभाव प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको देखिन्छ।
झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लागूऔषध दुर्व्यसन अहिले झापाको सबैभन्दा ठूलो सामाजिक चुनौती बनेको बताउँदै यसको असर केवल प्रयोगकर्तामा सीमित नरही परिवार, समाज र समग्र सुरक्षा व्यवस्थामै परेको बताइन्।
उनका अनुसार लागूऔषधको लतमा परेका युवामध्ये कतिपय चोरी, लुटपाट, कुटपिट, जबरजस्ती करणी तथा अन्य आपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको अनुसन्धानबाट देखिएको छ। उनले लागूऔषधले झापाको युवा पुस्तालाई बर्बादीतर्फ धकेलिरहेको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गरिन्।
उनले विद्यालय, अभिभावक, स्थानीय तह, सामाजिक संघसंस्था, राजनीतिक दल तथा नागरिक समाज सबैले संयुक्त रूपमा लागे मात्रै लागूऔषध नियन्त्रण सम्भव हुने बताइन्। सीमावर्ती जिल्ला भएकाले भारतसँगको खुला सीमाको दुरुपयोग गरी लागूऔषध भित्रिने क्रम पनि चुनौतीका रूपमा रहेको उनको भनाइ छ।
सुरक्षा विज्ञहरूका अनुसार बिर्तामोड तीव्र शहरीकरण भइरहेको व्यापारिक सहर हो। यहाँ दैनिक हजारौं मानिसको आवागमन हुने, बाहिरी जिल्लाबाट अध्ययन, रोजगारी र व्यवसायका लागि आउनेको संख्या बढ्दो हुनु, राति अबेरसम्म बजार सञ्चालन हुनु तथा खुला सीमाको प्रभावका कारण पनि अपराध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडले यस्ता अपराधका घटनाहरुमा नागरिकसँग मिलेर न्यूनीकरण गर्न लागि परेको अध्यक्ष देवि प्रसाद संग्रौलाले पूर्व खबरलाई बताए। विगत २० वर्षदेखि बिर्तामोड र आसपासको सुरक्षाका विषयमा नागरिकसँग हातेमाला गर्दै आफ्नो अघि बढेको र बिर्तामोडमा लागू औषध नियन्त्रण गर्न आफूहरूको मिसन समेत सक्रिय भएको उनले बताए ।
स्थानीयवासी भने बजार क्षेत्रमा रातिको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने माग गरिरहेका छन्। उनीहरूले मुख्य चोक, होटल, लज, सुनसान सडक तथा सार्वजनिक स्थलमा प्रहरी गस्ती बढाउन, सिसिटिभी निगरानी विस्तार गर्न, लागूऔषध कारोबारविरुद्ध निरन्तर अभियान सञ्चालन गर्न तथा युवालाई लक्षित सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
महिला अधिकारकर्मी अधिवक्ता कमला उप्रेतिका अनुसार यौनजन्य हिंसाका घटनामा पीडितलाई दोषी ठहर गर्ने सामाजिक प्रवृत्ति अन्त्य गर्दै पीडितमैत्री अनुसन्धान, छिटो न्याय सम्पादन र अपराधीलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार हिंसा रोक्न कानुनी कारबाहीसँगै सामाजिक चेतना अभिवृद्धि पनि उत्तिकै आवश्यक छ।
प्रहरीले पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, विद्यालय तथा कलेजमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने, रातिको गस्ती बढाउने, सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्ने र सूचना संकलनलाई प्रभावकारी बनाउने योजना अघि बढाएको जनाएको छ।
बिर्तामोडमा शनिबार राति भएको जबरजस्ती करणी आरोपको घटनाले फेरि एकपटक शान्त मानिएको झापामा बढ्दो अपराध, विशेष गरी लागूऔषध दुर्व्यसनसँग जोडिएका सामाजिक समस्याप्रति गम्भीर बहस सुरु गराएको छ। प्रहरी, स्थानीय सरकार, नागरिक समाज, अभिभावक र समुदायबीच प्रभावकारी सहकार्य हुन सके मात्र यस्ता घटना न्यूनीकरण गर्न सकिने सरोकारवालाको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *