cURL Error: 0 वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो, समन्वित नीति आवश्यक : सरोकारवाला - पूर्व खबर

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो, समन्वित नीति आवश्यक : सरोकारवाला

राजकुमार ओली ललितपुर, असार २३ (बाटिका अनलाइन) — वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनका क्षेत्रमा चुनौती बढ्दै गएको भन्दै सरोकारवालाले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय, स्पष्ट नीति र दिगो व्यवस्थापनमा जोड दिएका छन्।
नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशद्वारा आज आयोजित ‘वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापन’ विषयक गोष्ठीमा वक्ताहरूले वन संरक्षण, जैविक विविधताको संवर्द्धन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जलाधार व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा समस्या थप जटिल बन्दै गएको बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन, जैविक विविधता र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न नसके मुलुकको प्राकृतिक सम्पदा नै सङ्कटमा पर्ने चेतावनी दिनुभयो। उहाँले वन क्षेत्रसँग सम्बन्धित नीति, योजना र कार्यान्वयनका चुनौतीबारे सरोकारवालाबीच गहन छलफल गरी साझा निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
गोष्ठीमा वन नीति तथा प्रशासनको भावी दिशा, जलाधार व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व तथा बाँदर व्यवस्थापन र दिगो वन व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशीय सिकाइ अनुभवका विषयमा छुट्टाछुट्टै प्यानल छलफल गरिएको थियो।
वन नीति तथा प्रशासनसम्बन्धी सत्रमा पूर्वसचिव डा. विश्वनाथ ओलीको अध्यक्षतामा वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। छलफलमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, वन तथा वातावरण विज्ञ डा. सिन्धुप्रसाद ढुङ्गाना, नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्ण तथा रेड कार्यान्वयन केन्द्रकी उपसचिव शोभा सुवेदीले वन नीतिको प्रभावकारी कार्यान्वयन र सुधारका उपायबारे धारणा राख्नुभएको थियो।
जलाधार व्यवस्थापनसम्बन्धी सत्रमा पूर्वसचिव डा. प्रेमनारायण कँडेलको अध्यक्षतामा वन तथा भू–संरक्षण विभागका पूर्वमहानिर्देशक बद्रीराज ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नुभयो। छलफलमा विभिन्न प्रदेशमा जलाधार संरक्षणका उपलब्धि, चुनौती तथा जलवायु परिवर्तनले पारेको प्रभावबारे विमर्श गरिएको थियो।
मानव–वन्यजन्तु द्वन्द्व तथा बाँदर व्यवस्थापनसम्बन्धी सत्रमा पूर्वसचिव डा. कृष्णप्रसाद आचार्यको अध्यक्षतामा प्रा.डा. हरिप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो। सहभागीहरूले बाँदर, बँदेल र दुम्सीका कारण कृषिबालीमा बढ्दो क्षति, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा दीर्घकालीन व्यवस्थापनका उपायबारे सुझाव दिएका थिए।
दिगो वन व्यवस्थापनसम्बन्धी अन्तिम सत्रमा वनलाई उत्पादन र उद्योगसँग जोड्ने, समुदायको सहभागिता बढाउने तथा अन्तरप्रदेशीय अनुभव आदानप्रदानमार्फत वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशका अध्यक्ष उत्तम चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका सचिव डा. केदार बराल, विभिन्न प्रदेशका वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, वन प्राविधिक, वातावरणविद्, संरक्षणकर्मी तथा सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण वन, वन्यजन्तु र जलस्रोतमा परेको प्रभाव न्यूनीकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे साझा समझदारी विकास गर्न गोष्ठी उपयोगी भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *