झापा, १९ फागुन । जिल्लाको गौरव मानिएको ‘झापा गोल्डकप’को छैठौं संस्करण आज सुरु हुँदैछ ।बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा आज गोल्डकपको सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन खेल एपीएफ र संकटाबीच हुने बताइएको छ । उद्घाटन अवसरमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ ।झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले प्रतियोगितालाई मर्यादित, उत्कृष्ट, भब्य र सफल बनाउन अपिल गर्दै उपस्थितिका लागि अनुरोध गरेका छन् । सबैको सहयोगबाट गोल्डकप सफल हुने उनले विश्वास व्यक्त गरेका छन् । गोल्डकपलाई थप व्यवस्थित बनाउन आयोजकले आफनो वेवसाइटसमेत सार्वजनिक गरेका छन् ।
महासंघलाई संस्थागत सदस्यता
नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ । संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्ड कपका अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष बस्नेतले पत्रकार महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्ड कप सफल बनाउन महासंघबाट सदैव सहयोग प्राप्त हुने बिश्वास व्यक्त गरे ।
गोल्डकप हेर्नका लागि ११ हजार दर्शक अटाउने बाँसको आकर्षक प्यारापिट तयार गरिएको छ ।दर्शकले प्रतियोगिता हेर्न टिकट लिनु पर्नेछ । सेमीभन्दा अघि टिकट रु। २ सय, सेमीमा रु। ३ सय र फाइनलमा रु ४ सय टिकट दर निर्धारण गरिएको छ ।
प्रतियोगितामा यती बु्रअरी मुख्य प्रायोजक रहेको छ । ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् ।गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद रु१३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न रु एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।





