काठमाडौं, ६ वैशाख — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी हारलाई पार्टीको अन्त्यका रूपमा नबुझ्न आग्रह गर्दै राप्रपा पुनर्गठित भएर थप सशक्त रूपमा अघि बढ्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सकिन्छ वा सिध्याइन्छ भन्ने कल्पना नगर्न चेतावनी दिएका छन्। उनले पार्टीको निर्माणमा आफूजस्ता असंख्य कार्यकर्ताको योगदान रहेको उल्लेख गर्दै चुनाव हार्दैमा राजनीतिक दलको भविष्य समाप्त नहुने स्पष्ट पारे।
“राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। यो पार्टी असंख्यको रगत, पसिना र बैँसले बनेको हो। चुनाव हार्दैमा पार्टीको भविष्य सकिँदैन,” उनले लेखेका छन्।
लिङ्देनले पार्टी आफ्ना मूल एजेण्डाबाट पछि नहट्ने पनि बताएका छन्। उनले अभिभावकीय राजसंस्था, सनातन धर्ममा आधारित हिन्दू राष्ट्र, तथा वर्तमान प्रदेश संरचना पुनरावलोकन गर्ने मुद्दामा राप्रपा दृढ रहेको उल्लेख गरे।
उनका अनुसार पार्टीले आफ्ना कमजोरीहरूको समीक्षा गर्दै सुधारको बाटो समात्नेछ। “हामी आफ्ना गल्ती सच्याएर पुनर्गठित भएर उठ्नेछौं,” उनले भने।
हालै सम्पन्न निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि राप्रपाको भविष्यबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला अध्यक्ष लिङ्देनको यो धारणा सार्वजनिक भएको हो।


