cURL Error: 0 सञ्चारकर्मीसँग एआई डिजिटल प्रविधिको प्रयोग विषयक अन्तरक्रिया - पूर्व खबर

सञ्चारकर्मीसँग एआई डिजिटल प्रविधिको प्रयोग विषयक अन्तरक्रिया

बिर्तामोड, ६ वैशाख (पूर्व खबर)
राइनस एजुकेसन सर्भिसको सहयोगमा पर्यटन पत्रकार मञ्च झापाले एकदिने आइटी तथा एआईसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिर्तामोडस्थित मुक्तिचोकमा रहेको राइनस एजुकेसन सर्भिसको सभा हलमा आयोजित कार्यक्रममा झापाका सञ्चारकर्मीहरूलाई आधुनिक सूचना प्रविधि, डिजिटल सुरक्षा र एआईको प्रयोगबारे व्यवहारिक जानकारी प्रदान गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य सञ्चार क्षेत्रमा तीव्र गतिमा बढिरहेको डिजिटल रूपान्तरणसँगै देखिएका चुनौतीहरूको सामना गर्न पत्रकारहरूलाई सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ। विशेषगरी पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारहरू लक्षित साइबर आक्रमण तथा ह्याकिङका घटनाहरू बढ्दै गइरहेको सन्दर्भमा आइटी सुरक्षा सम्बन्धी ज्ञान अत्यावश्यक बनेको विषय कार्यक्रममा जोड दिइयो।
मञ्चका अध्यक्ष बिनोद पाण्डे को सहजीकरणमा सम्पन्न कार्यक्रममा सिनियर सफ्टवेयर डेभलपर सन्दिप घिमिरे, एआई विज्ञ सागर पौडेल तथा डिजिटल मार्केटिङ अफिसर सञ्जय पौडयालले प्रशिक्षण दिएका थिए। उनीहरूले पत्रकारितामा एआईको प्रयोग, तथ्य जाँच (फ्याक्ट–चेकिङ), डेटा सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल पहिचान जोगाउने उपायहरूबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई एआई प्रविधिले समाचार लेखन, सामग्री विश्लेषण र सूचना व्यवस्थापनलाई कसरी सहज बनाउँछ भन्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले एआईको सही प्रयोगले पत्रकारितालाई अझ प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सक्ने बताएका थिए। साथै, एआईको दुरुपयोगले गलत सूचना फैलिन सक्ने भएकाले त्यसप्रति सचेत रहनुपर्नेमा पनि जोड दिइयो।
कार्यक्रममा अग्रज सञ्चारकर्मीहरू दिपिन राई, दीपक चन्द लगायत युवा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मञ्चका उपाध्यक्ष ,कार्यक्रम सञ्चालक पुष्प बरालका अनुसार यस्तो प्रशिक्षणले स्थानीय पत्रकारहरूलाई नयाँ प्रविधिसँग अद्यावधिक गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, नेपाल पत्रकार महासंघ झापाका। सहसचिव तिलक योन्जन, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृहकीय अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको पनि सहभागिता रहेको थियो। उनले वर्तमान डिजिटल युगमा पत्रकारिताले अपनाउनुपर्ने नयाँ रणनीतिबारे सूचना सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने जानकारी दिएका छन्। उनका अनुसार, अबको पत्रकारिता केवल समाचार संकलनमा सीमित नभई प्रविधिसँग समायोजन गर्दै सुरक्षित र जिम्मेवार सूचना प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता छ।
कार्यक्रमले झापाली सञ्चारकर्मीहरूलाई डिजिटल जोखिमबारे सचेत गराउँदै भविष्यको सञ्चार रणनीति निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। आधुनिक प्रविधिको प्रभावकारी प्रयोगसँगै साइबर सुरक्षामा ध्यान दिन सके पत्रकारिता क्षेत्र अझ सशक्त र विश्वसनीय बन्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *