बिर्तामोड, ५ वैशाख — झापाको बिर्तामोडमा आयोजित सनलाइट म्युजिक प्रालिको ३०औँ वार्षिक उत्सवका अवसरमा वरिष्ठ गीतकार भरत लामा सम्मानित हुनुभएको छ। उक्त समारोहमा कोशी प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री चिन्तन पाठक (तिलचन)ले लामासहित युवा भजन गायक दुर्गा ओलीलाई सम्मान गर्नुभएको हो।
सनलाइट म्युजिकका सञ्चालक कृष्ण योजन र हेमा भण्डारीद्वारा स्थापित संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाली संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका स्रष्टाहरूलाई सम्मान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा गीतकार लामा र गायक ओलीसँगै प्रियंका कटुवाललाई पनि सम्मान गरिएको संयोजक कृष्ण योजनले जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वरिष्ठ गीतकार शिवशंकर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली संगीत तथा साहित्यको प्रवद्र्धनमा संस्थाको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँहरूले स्थानीय प्रतिभालाई उजागर गर्दै राष्ट्रिय स्तरमा पु¥याउन संस्थाले महत्वपूर्ण योगदान गरेको धारणा व्यक्त गर्नुभयो।
समारोहमा नवोदितदेखि स्थापित गायक तथा संगीतकर्मीहरूले विभिन्न गीत प्रस्तुत गरेका थिए। सांगीतिक प्रस्तुति र सम्मान कार्यक्रमले उत्सवलाई आकर्षक बनाएको सहभागीहरूले बताएका छन्। यस्ता कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ।
सनलाइट म्युजिक प्रालिले विगत तीन दशकदेखि संगीत उत्पादन, प्रवद्र्धन र कलाकारहरूको क्षमता विकासमा निरन्तर काम गर्दै आएको छ। विशेषगरी पूर्वी नेपालका कलाकारलाई प्राथमिकता दिँदै उनीहरूलाई राष्ट्रिय मञ्चसम्म पु¥याउने प्रयास गरिरहेको जनाइएको छ।
कार्यक्रमका वक्ताहरूले यस्ता संस्थागत प्रयासहरूले नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा विकासमा महत्वपूर्ण टेवा पु¥याउने बताएका छन्। साथै, आगामी दिनमा अझ प्रभावकारी रूपमा सांगीतिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। उक्त वार्षिकोत्सवले स्थानीय कला तथा संस्कृतिको संरक्षणमा संस्थागत पहलको महत्वलाई पुनः उजागर गरेको छ।



