cURL Error: 0 गायक रामकृष्ण ढकालको टोली मङ्गलबार बिर्तामोड आउँदै: मुक्तिचोकमा सांगीतिक कार्यक्रम आयोजना गर्ने - पूर्व खबर

गायक रामकृष्ण ढकालको टोली मङ्गलबार बिर्तामोड आउँदै: मुक्तिचोकमा सांगीतिक कार्यक्रम आयोजना गर्ने

राजकुमार ओली,बिर्तामोड, वैशाख ५(पूर्व खबर) वरिष्ठ गायक रामकृष्ण ढकालको सांगीतिक टोली मंगलबार झापाको बिर्तामोड आउने भएको छ। गोरखा फाउन्डेसनले आयोजना गर्न लागेको विशेष कार्यक्रममा सहभागी हुन ढकाल नेतृत्वको टोली बिर्तामोड आउने तयारी गरिएको हो।
फाउण्डेशनका अध्यक्ष विरु दर्नालका अनुसार ‘म्युजिकल टूर २०२६’ अन्तर्गत आयोजना हुन लागेको उक्त कार्यक्रममा ढकालले आफ्ना चर्चित तथा पुराना लोकप्रिय गीतहरू प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। बिर्तामोडस्थित मुक्तिचोक परिसरमा खुला रूपमा नयाँ वर्षको समेत अवसर पारेर आयोजना गरिने कार्यक्रममार्फत स्थानीय दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गरिने जनाइएको छ।
कार्यक्रमसँगै यही वैशाख २५ गते देशभर एकसाथ प्रदर्शनमा आउने नेपाली चलचित्र मालती मङ्गले बारे पनि दर्शकलाई जानकारी गराइने आयोजकले जनाएको छ। चलचित्रको प्रचार–प्रसारका लागि कलाकारहरूको टोलीसमेत कार्यक्रममा सहभागी हुने बताइएको छ।
उक्त टोलीमा कलाकार ढकाल सहित चलचित्रका कलाकारहरूको सहभागिता रहने जनाइएको छ। चलचित्रका विषयमा जानकारी दिनुका साथै दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत राखिएको रामकृष्ण ढकालले बताएका छन ।
सांगीतिक प्रस्तुति बाहेक कार्यक्रममा विभिन्न सामाजिक तथा सम्मान कार्यक्रम पनि समावेश गरिने फाउण्डेशनले जनाएको छ। अध्यक्ष दर्नालका अनुसार नेपाली कला, संस्कृति तथा कलाकारको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
यसअघि पनि फाउन्डेसनले नेपाली भाषी सर्जक तथा कलाकारहरूलाई सम्मान गर्दै आएको छ। फाउण्डेशनले विगतमा तुलसी घिमिरे, राजेश हमाल तथा सामाजिक अभियन्ता महेन्द्र गिरी लगायतलाई सम्मान गरिसकेको जनाएको छ।
आयोजकका अनुसार बिर्तामोडमा हुने उक्त कार्यक्रमले स्थानीय स्तरमा सांगीतिक वातावरणलाई थप चलायमान बनाउनुका साथै नेपाली चलचित्र र संगीत क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *