राजकुमार ओली।,काठमाडौं, वैशाख ५— गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव माग गरेको छ।
मन्त्रालयले वैशाख ३ गते देशभरका जिल्ला समन्वय समिति, स्थानीय तह तथा सरोकारवाला निकायलाई पत्राचार गर्दै यस विषयमा आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। साथै, जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिँदै सहजीकरणका लागि अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३, ५, ६, ७ र ८ अनुसार गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका गाभ्ने तथा नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्ने सम्बन्धमा प्रारम्भिक मस्यौदा तयार गरिएको छ।
उक्त मस्यौदामा स्थानीय तहको संरचनालाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउने उद्देश्य राखिएको जनाइएको छ। मन्त्रालयले सम्बन्धित निकायहरूलाई सो मस्यौदामाथि आवश्यक अध्ययन गरी आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।
यस सम्बन्धमा कुनै सुझाव वा धारणा भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र पठाउन अनुरोध गरिएको छ। मन्त्रालयले प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गर्दै अन्तिम निर्णय प्रक्रियालाई अगाडि बढाइने जनाएको छ।
स्थानीय तहको संरचना र सिमाना हेरफेरसँग सम्बन्धित निर्णयले सेवा प्रवाह, प्रशासनिक पहुँच तथा स्थानीय विकासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सरोकारवाला निकायहरूको सुझावलाई महत्वका साथ लिइने मन्त्रालयले स्पष्ट पारेको छ।



