cURL Error: 0 बिर्तामोडमा ७ गतेबाट निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गर्दै बिर्तामोड चिल्ड्रेन अस्पताल - पूर्व खबर

बिर्तामोडमा ७ गतेबाट निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गर्दै बिर्तामोड चिल्ड्रेन अस्पताल

बिर्तामोड, चार वैशाख (पूर्व खबर)
झापाको बिर्तामोडलाई पछिल्लो समय “मेडिकल हब” का रूपमा चिनिन थालेको सन्दर्भमा यहाँस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले नव वर्ष २०८३ को अवसर पारेर सञ्चालन गर्न लागेको निःशुल्क बाल स्वास्थ्य शिविरले थप सकारात्मक सन्देश दिएको छ। अस्पतालले वैशाख ७ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने शिविरमार्फत बालबालिकालाई लक्षित स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको जनाएको छ।
शुक्रवार बिर्तामोड २ स्थित हिमाल सागर पार्टी प्यालेसमाआयोजित पत्रकार सम्मेलनमार्फत अस्पतालले शिविर अवधिभर ओपीडी सेवा निःशुल्क प्रदान गरिने तथा विभिन्न ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुट दिइने जानकारी दिएको हो। नवजात शिशुदेखि किशोर अवस्थासम्मका बालबालिकालाई विशेषज्ञ चिकित्सक टोलीबाट सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।
अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रकाश आचार्यले यस्ता शिविरले बालबालिकाको स्वास्थ्य अवस्थाबारे समयमै पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “धेरैजसो अभिभावकले सामान्य लक्षणलाई बेवास्ता गर्ने गरेका छन्, जसले पछि जटिल समस्या निम्त्याउन सक्छ। निःशुल्क शिविरले प्रारम्भिक चरणमै रोग पहिचान र उपचार गर्न मद्दत पुर्‍याउँछ।” उनले विशेषगरी पोषण अभाव, संक्रमणजन्य रोग र नवजात शिशुको स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

अस्पतालकी अध्यक्ष लीला मैनालीले बिर्तामोड मेडिकल क्षेत्रको केन्द्र बन्दै गएको अवस्थामा गुणस्तरीय सेवा सँगसँगै सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण हुने बताइन्। उनले भनिन्, “स्वास्थ्य सेवा केवल व्यवसाय मात्र होइन, सामाजिक दायित्व पनि हो। आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकालाई लक्षित गर्दै हामीले यो शिविर आयोजना गरेका हौँ।”

उनका अनुसार ग्रामीण तथा विपन्न परिवारका बालबालिकालाई विशेष प्राथमिकता दिइनेछ भने आवश्यक परे स्थानीय तहको सिफारिसमा थप छुटको व्यवस्था पनि गरिनेछ।
अस्पतालका प्रबन्ध निर्देशक डा. रुपक आचार्यले शिविरमार्फत उपचार सेवामा पहुँच नपुगेका बालबालिकालाई राहत पुर्‍याउने उद्देश्य रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बिर्तामोडमा निजी तथा आधुनिक स्वास्थ्य संस्थाहरूको वृद्धि भइरहेका बेला बालबालिकामै केन्द्रित यस्तो निःशुल्क शिविरले चिकित्सा सेवाको पहुँच विस्तार गर्नुका साथै “मेडिकल हब” को अवधारणालाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *