cURL Error: 0 अस्तव्यस्त बन्दै बिर्तामोड कृषि उपज बजार: व्यवस्थापनका निम्ति प्रधानमन्त्री समक्ष माग - पूर्व खबर

अस्तव्यस्त बन्दै बिर्तामोड कृषि उपज बजार: व्यवस्थापनका निम्ति प्रधानमन्त्री समक्ष माग

बिर्तामोड, वैशाख — मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा रहेको कृषिथोक बजार पछिल्लो समय झन् अस्तव्यस्त बन्दै गएको छ।

दैनिक लाखौँ रुपैयाँभन्दा बढीको तरकारी तथा फलफूल कारोबार हुने अञ्चलकै सबैभन्दा ठूलो यस बजारमा विभिन्न प्रकारका विकृति मौलाउँदै गएको भन्दै सर्वसाधारण तथा व्यवसायीहरूबाट गुनासो बढ्न थालेको छ।
बिर्तामोड नगरपालिका–५ मा करिब ३ बिगाहा १९ कठ्ठा जमिनमा फैलिएको उक्त कृषि बजारमा हाल खुद्रा तथा थोक गरी ३ सय २ वटा पसल सञ्चालनमा छन्। पूर्वको प्रमुख कृषि उपज संकलन तथा वितरण केन्द्रको रूपमा परिचित यो बजार व्यवस्थापनको अभावमा क्रमशः अव्यवस्थित बन्दै गएको देखिन्छ।

बजार क्षेत्र साँघुरो हुँदा दैनिक आउने सवारीसाधनको चाप थेग्न कठिन भइरहेको छ। विशेषगरी जथाभावी रूपमा पार्किङ गरिने गाडी तथा अनियन्त्रित रूपमा गुड्ने सिटी सफारीका कारण आवतजावतमा समस्या सिर्जना भएको छ। यसले गर्दा बजारभित्र ट्राफिक जाम हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयहरू बताउँछन्।

यस्तै, लामो समयदेखि बजार क्षेत्रभित्र जग्गा अतिक्रमण गरी गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गर्नेहरूलाई हटाउने प्रयास पनि प्रभावकारी बन्न सकेको छैन। सम्बन्धित निकायले पटक–पटक हटाउने प्रयास गरे पनि कार्यान्वयनमा कमजोरी देखिँदा समस्या ज्यूँका त्यूँ रहेको छ।

फोहोर व्यवस्थापनको अवस्था पनि नाजुक छ। जताततै कुहिने तरकारी र फलफूलका अवशेष थुप्रिनुका साथै ढल निकासको उचित व्यवस्था नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ। यसले बजारमा आउने उपभोक्ता र व्यवसायी दुवैलाई असहज बनाएको छ।
यसैबीच, झापा क्षेत्र नम्बर २ की समानुपातिक सांसद मनु विश्वकर्माले बिर्तामोड कृषिथोक बजारको अव्यवस्थित अवस्थाप्रति ध्यानाकर्षण गराउँदै यसको दीर्घकालीन व्यवस्थापन गर्न प्रधानमन्त्रीसमक्ष माग गरेकी छन्। प्रधानमन्त्रीसँग भएको छलफलका क्रममा उनले बजार व्यवस्थापन, अतिक्रमण नियन्त्रण, सवारी व्यवस्थापन र सरसफाइ सुधारका लागि ठोस योजना ल्याउनुपर्ने आवश्यकता औंल्याएकी हुन्।
स्थानीय सरकार, बजार व्यवस्थापन समिति र सम्बन्धित निकायबीच समन्वयको अभावका कारण समस्या जटिल बन्दै गएको भन्दै सरोकारवालाहरूले अब तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। अन्यथा, अञ्चलकै प्रमुख कृषि बजारको रूपमा रहेको बिर्तामोड कृषिथोक बजारले आफ्नो पहिचान गुमाउने जोखिम बढ्दै गएको उनीहरूको चेतावनी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *