cURL Error: 0 बुद्धशान्ति प्रेस क्लबको वार्षिक भित्तेपात्रो विमोचन - पूर्व खबर

बुद्धशान्ति प्रेस क्लबको वार्षिक भित्तेपात्रो विमोचन

बुद्धशान्ति, बैशाख १ । पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले नयाँ वर्ष २०८१ को अवसर पारेर वार्षिक भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं १का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्ले, वडा नं ४का वडा अध्यक्ष शेरबहादुर राय, वडा नं ७का वडा अध्यक्ष चन्द्रप्रसाद भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

भित्तेपात्रो विमोचन पश्चात प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रसाईंले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै पत्रकारहरुले खोज पत्रकारीतामा जोड दिन आग्रह गरेका छन् । स्थानीय निकायले स्वास्थ्य, शिक्षा, पूर्वाधार, बिकास निर्माण जस्ता क्षेत्रमा गरेका महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई आगामी दिनमा गाउँपालिकाले सम्मान समेत गरिने योजना रहेको बताएका छन् । उनले आगामी दिनमा पत्रकारको तालिम तथा क्षमता अभिबृद्धिका लागि पालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

बिशेष अतिथिका रुपमा रहेका गाउँपालिका उपाध्यक्ष खतिवडाले पछिल्लो समय पत्रकारीतामा बिकृति बढ्दै गएकाले पत्रकारीता पेशामा नै दाग लाग्दै आएको बताए । उनले कँहि कतै पत्रकारहरुले पक्ष र विपक्ष गर्दै समाचार सम्प्रेषण गर्ने गरेकाले वास्तविक समाचार भन्दा भिन्न समाचार सम्प्रेण भई आम नागरिकलाई भ्रम पैदा हुने गरेकाले यस्ता भ्रम छर्ने पत्रकारीता लामो समय सम्म टिक्न नसक्ने बताउँदै पत्रकारलाई खोज र तथ्यमा आधारित समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरेका छन् । उनले नयाँ बर्षको शुभकामना दिँदै आगामी दिनमा पालिका र क्लब बिचको सहकार्य अपरिहार्य रहेको बताए ।

२०७६ सालमा स्थापना भएको बुद्धशान्ति प्रेस क्लबले स्थानीय पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने किसिमका तालिमका साथै उद्घोषण, व्यक्तित्व बिकास तालिम, आधारभूत पत्रकारीता तालिम समय समयमा सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष तिम्सिनाले बताए । उनले आगामी बर्षहरुमा पनि भित्तेपात्रो प्रकाशनलाई निरन्तरता दिने र पत्रकारहरुका लागि भिन्न किसिमको तालिमको आयोजना गर्ने समेत बताएका छन् ।

कार्यक्रममा वडाध्यक्ष अनिल वाग्ले, शेरबहादुर राय, चन्द्र प्रसाद भण्डारी, प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल, बुधबारे जेसीजका पूर्व अध्यक्ष सिनेटर मुकेश भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए । संस्थापक सचिव दिपेन लावतीले सञ्चालन गरेको कार्यक्रममा सदस्य दिपेन विकले स्वागत गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज भानु मगर, प्रेस क्लबका सल्लाहकार सदस्य गंगाराम गड्तौला, भुवन तामाङ, क्लबका पदाधिकारी, बुधबारे जेसीजका अध्यक्ष दुर्योधन देव सिंह, सेम्पल टेक्निकल इन्स्टीच्युडका सञ्चालक उमेश भट्टराई, वान टच प्रिन्ट सोलुसनका सञ्चालक विवेक खुलाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *