मेची कै पहिलो बाल अस्पतालको रुपमा स्थापित बिर्तामोड चिल्ड्रेन हस्पिटलले एक बर्षको अवधिमा २१७७ जनाको सफल उपचार गरेको छ । दोस्रो बार्षिकोत्सवको अवसरमा बिहीबार हस्पिटलले पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी गराएको हो ।
२०७९ असोज १० गतेदेखि बिर्तामोड–१ मा सेवा प्रारम्भ गरेको अस्पतालले गत एक बर्षको अवधिमा २१७८ जना बिरामीलाई भर्ना गरी उपचार गरेकोमा १ जना बिरामीको मात्र मृत्यु भएको जनाएको छ । सफल उपचार भएको बिरामीको संख्या ९९।९ प्रतिशत रहेको अस्पतालका प्रबन्ध निर्देशक डा। रुपक आचार्यले बताउनुभयो।
गत वर्ष अस्पतालले २७५९ जनालाई ओपिडी र १०७४ जनालाई इमर्जेन्सी सेवा दिएको डा। आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । भर्ना भएका मध्ये ३ प्रतिशत बिरामीलाई मात्र आइसीयुमा राख्नु परेकोपनि दाहालले बताउनुभएको हो।
अस्पतालले अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको सेवा २४सै घण्टा उपलब्ध गराइरहेको अस्पतालका अध्यक्ष लिला मैनालीले बताउनुभएको छ ।
अस्पतालमा अधिकांश एक बर्ष मुनिका नवजात शिशु आउने भएकाले उपचार प्रक्रियामा अत्यन्तै संवेदनशिल हुनु परेको अस्पतालले जनाएको छ । अस्पतालले बालबालिकामा देखा पर्ने मेनेन्जाईटिस, मुटुको रोग, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजमसमेत पहिचान गरिरहेको मैनालीले बताउनुभयो ।
एक वर्षको अवधिमा अस्पतालले सेवाग्राहीलाई २४ लाख २४ हजार ३९० रुपैयाँ छुट सुविधा दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। सुजता मैनाली आचार्यले जानकारी दिनुभएको छ ।
दक्ष जनशक्ति विदेश पलायन भइरहेको, बिरामी उपचारका लागि कष्ट व्यहोरेर अन्यत्र जानु परिरहेको परिस्थितिलाई मध्यनजर गरी आफ्नै ठाउँमा अस्पताल खोलेर सेवा दिनुका साथै रोजगारीसमेत सिर्जना गरौँ भन्ने पवित्र उद्धेश्यले बाल अस्पताल सञ्चालन गरिएको अस्पतालका अध्यक्ष लीला मैनालीले आफुहरुको लक्ष्य भएको जानकारी दिनुभएको हो ।





