cURL Error: 0 हरित भविष्य निर्माणमा सहारा नेपाल : शान्तिनगरलाई ‘इको भिलेज’ बनाउने अभियान सुरु - पूर्व खबर

हरित भविष्य निर्माणमा सहारा नेपाल : शान्तिनगरलाई ‘इको भिलेज’ बनाउने अभियान सुरु

सरस्वती मिस्र
बुद्धशान्ति ,३२ असार — दक्षिण इलामको शीतल हावापानी र उत्तरी झापाको उर्वर भूमिलाई जोड्ने बुद्धशान्ति गाउँपालिका–७ स्थित धारागोला–शान्तिनगरलाई हरित, अर्गानिक तथा पर्यटकीय नमुना बस्तीका रूपमा विकास गर्ने उद्देश्यसहित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘इको भिलेज’ अभियान सुरु गरेको छ।
नेपालकै सबैभन्दा ठूलो कारोबार गर्ने सहकारी संस्थाका रूपमा परिचित सहारा नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वातावरण संरक्षण, अर्गानिक कृषि, जैविक विविधता, ग्रामीण पर्यटन तथा स्थानीय आयआर्जनलाई एकीकृत गर्ने दीर्घकालीन योजनासहित अभियान अघि बढाएको हो।
सहारा नेपालका कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले प्राकृतिक स्रोत–साधनको संरक्षण गर्दै स्थानीय समुदायको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले शान्तिनगरलाई इको भिलेजका रूपमा छनोट गरिएको बताए। उनका अनुसार यस अभियानले हरियाली प्रवर्द्धनसँगै कृषिलाई पर्यटनसँग जोड्दै स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
सहारा नेपालका सञ्चालक तथा कृषि एवं वातावरण उपसमितिका फोकल पर्सन शंकर रिजालले शान्तिनगरको भौगोलिक बनोट, मौसमीय विशेषता र प्राकृतिक सौन्दर्यलाई व्यवस्थित रूपमा उपयोग गर्न सके यो क्षेत्र कोशी प्रदेशकै उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्य बन्न सक्ने बताए। उनले इको भिलेज अभियानलाई वृक्षारोपणमा मात्र सीमित नराखी वातावरणमैत्री जीवनशैली, अर्गानिक खेती, स्वच्छ बस्ती, जैविक विविधता संरक्षण र समुदायको आर्थिक सशक्तीकरणसँग जोडेर अघि बढाइने जानकारी दिए।
बुद्धशान्ति गाउँपालिका– का जनप्रतिनिधि खगेन्द्र गड्तौलाको सभापतित्व तथा रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १ सय ४० वटा निमका बिरुवा रोपिएका छन्। ‘एक परिवार, दुई बिरुवा’ अभियानअन्तर्गत ७० परिवारलाई बिरुवा वितरण गरिएको बालीविज्ञ तथा प्राविधिक राजेन्द्र खरेलले जानकारी दिए।
खरेलले निम वातावरणीय सन्तुलन, स्वास्थ्य तथा जैविक विविधताका दृष्टिले अत्यन्त महत्वपूर्ण प्रजाति भएकाले यसको संरक्षण र विस्तार दीर्घकालीन रूपमा समुदायका लागि लाभदायी हुने बताए। उनले शान्तिनगरमा अर्गानिक तरकारी, फलफूल तथा कृषिमा आधारित उद्यम विकाससँगै ग्रामीण पर्यटन प्रवर्द्धन गर्न पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै स्थानीयवासीको सक्रिय सहभागिताविना इको भिलेजको अवधारणा सफल हुन नसक्ने स्पष्ट पारे।
कार्यक्रममा सहारा नेपालका प्राविधिक विनोद दाहाल, चारआलि सेवा केन्द्र अनुगमन प्रमुख गोमा बस्नेत, बुद्धशान्ति सेवा केन्द्र बुधबारेका प्रमुख केपी लुइटेल तथा स्थानीय जनप्रतिनिधि, सहकारीकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले नेपालकै अग्रणी सहकारी संस्थाले आफ्नो पालिकालाई इको भिलेज अभियानका लागि छनोट गर्नु गौरवको विषय भएको जानकारि गरागदै स्थानीय सरकारले आवश्यक समन्वय, सहकार्य र नीतिगत सहयोग गर्ने प्रतिबद्धता रहेको जानकारि दिएकाछन। उनले सार्वजनिक, निजी र सहकारी क्षेत्रबीचको सहकार्यले मात्र दिगो विकासका लक्ष्य हासिल गर्न सकिने लक्ष्य राखिएको जानकारी दिए।
संयोजक ओलीका अनुसार सहारा नेपालले यसअघि पनि कोशी प्रदेशका विभिन्न स्थानीय तहमा सुन्तला, जामुन, निम तथा अन्य बहुउपयोगी बिरुवा वितरण, वृक्षारोपण, अर्गानिक खेती प्रवर्द्धन, जल–जमिन संरक्षण तथा वातावरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। इको भिलेज अभियान त्यसैको विस्तारित र दीर्घकालीन रूप हो।
वृक्षारोपण कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, समितिका सदस्य टङ्क पराजुली, देवी काफ्ले, केशव बराल, रण्जित खनाल, कृष्ण खनाल, अशिष गिरीलगायत स्थानीय अगुवा तथा बासिन्दाले सहभागिता जनाउँदै अभियानलाई सफल बनाउन सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
हाल करिब १८ अर्ब रुपैयाँभन्दा बढी कारोबार, एक लाख ९७ हजारभन्दा बढी शेयर सदस्य तथा एक अर्ब २६ करोड रुपैयाँ जगेडा कोष रहेको सहारा नेपालले कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासका क्षेत्रमा निरन्तर सामाजिक लगानी गर्दै आएको छ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीका अनुसार समुदायको आवश्यकता पहिचान गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले सहकारीलाई वित्तीय कारोबारमा मात्र सीमित नराखी सामाजिक रूपान्तरणको साझेदारका रूपमा स्थापित गरेका छन्। आगामी दिनमा पनि हरित विकास, दिगो कृषि र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर यस्ता अभियानलाई विस्तार गरिने उनले बताए।
स्थानीयवासीका अनुसार दक्षिण इलामको प्राकृतिक मौसम, उत्तरी झापाको कृषि सम्भावना, हरियाली वन क्षेत्र र ग्रामीण संस्कृतिलाई समेटेर अघि बढाइएको इको भिलेज अभियान सफल भए शान्तिनगर निकट भविष्यमा कोशी प्रदेशकै नमुना हरित बस्ती मात्र नभई नेपालकै आकर्षक ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *