cURL Error: 0 एनआरएनएको सल्लाहकारमा व्यवसायी महेन्द्र चौलागाईं, प्रवास अनुभवलाई संस्थागत विकासमा उपयोग गर्ने अपेक्षा - पूर्व खबर

एनआरएनएको सल्लाहकारमा व्यवसायी महेन्द्र चौलागाईं, प्रवास अनुभवलाई संस्थागत विकासमा उपयोग गर्ने अपेक्षा

राजकुमार ओली बिर्तामोड, १साउन (पुर्व खबर) — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष तथा कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्र चौलागाईं लाई संघको सल्लाहकारमा चयन गरेको छ। संघको विधानअनुसार गठित ५१ सदस्यीय सल्लाहकार समितिमा चौलागाईंलाई समेटिएको हो।
एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काद्वारा जारी आन्तरिक परिपत्रअनुसार नवगठित सल्लाहकार समितिमा विभिन्न मुलुकमा रहेर व्यवसाय, सामाजिक सेवा, लगानी प्रवर्द्धन तथा नेपाली समुदायको हितमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई समावेश गरिएको छ।
झापाको बाह्रदशी गाउँपालिकाका स्थायी बासिन्दा चौलागाईं लामो समयदेखि कतारलाई कर्मथलो बनाएर व्यवसाय सञ्चालन गर्दै आएका नेपाली उद्यमीका रूपमा परिचित छन्। व्यवसायसँगै प्रवासी नेपाली समुदायका सामाजिक गतिविधि, परोपकारी अभियान, आपसी सहकार्य र मातृभूमिसँगको सम्बन्ध सुदृढ बनाउन उनले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
कतारमा विभिन्न व्यवसायिक क्षेत्रमा आबद्ध चौलागाईंले नेपाली उद्यमीलाई व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा लगानीका अवसर पहिचान गर्न सहजीकरण गर्दै आएको बताइन्छ। प्रवासमा रहेका नेपालीबीच सहकार्य, अनुभव आदानप्रदान तथा उद्यमशीलता विकासका विषयमा उनले निरन्तर पहल गर्दै आएका छन्।
उनी नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय झापाली समाजले प्रवासमा रहेका झापालीलाई एकताबद्ध बनाउने, सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने, विपद् तथा मानवीय संकटका बेला सहयोग जुटाउने र नेपालमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
चौलागाईंको नेतृत्वमा संस्थाले झापासहित देशका विभिन्न जिल्लामा सामाजिक सहयोग, स्वास्थ्य सामग्री वितरण, शैक्षिक सहयोग तथा प्राकृतिक विपद्का समयमा राहत संकलन र वितरणका अभियान सञ्चालन गरेको जनाइएको छ। यसले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुगेको सरोकारवालाको भनाइ छ।
एनआरएनएको सल्लाहकारमा चयन भएपछि चौलागाईंले प्रवासमा रहेका नेपालीको अनुभव, सीप, पूँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्ने विषयमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संस्थाको नीतिगत सुधार, संगठन सुदृढीकरण तथा विश्वभर छरिएका नेपालीबीच एकता अभिवृद्धि गर्न आफ्नो अनुभव उपयोग गर्ने उनले बताएका छन्।
यसै समितिमा अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक तथा तदर्थ समिति संयोजक भवानी ओली पनि सल्लाहकारमा चयन भएका छन्। अष्ट्रेलियालाई कर्मथलो बनाएका ओली लामो समयदेखि प्रवासी नेपालीको हकहित, सामाजिक अभियान तथा संस्थागत विकासमा सक्रिय रहँदै आएका छन्।
एनआरएनएले सल्लाहकार समितिको गठन संस्थाको दीर्घकालीन नीति निर्माण, संस्थागत सुदृढीकरण, विश्वभर रहेका नेपाली समुदायको अनुभवको उपयोग तथा प्रवासी नेपालीको साझा हित संरक्षण गर्ने उद्देश्यले गरिएको जनाएको छ।
प्रवासमा व्यवसायिक सफलता हासिल गर्दै सामाजिक उत्तरदायित्वलाई समेत समान महत्व दिएका चौलागाईंको सल्लाहकारमा नियुक्तिले प्रवासी नेपाली उद्यमीको अनुभवलाई संस्थागत विकासमा उपयोग गर्ने अपेक्षा बढाएको छ। साथै, नेपालमा लगानी, उद्यमशीलता, ज्ञान हस्तान्तरण र सामाजिक विकासका क्षेत्रमा प्रवासी नेपालीको भूमिका अझ प्रभावकारी बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *