राजकुमार ओली
बिर्तामोड (झापा),१ साउन —
पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त व्यापारिक केन्द्रमध्ये एक बिर्तामोड यतिबेला नयाँ मोडमा उभिएको छ। एकातिर एसियाली राजमार्ग (एएच–२) स्तरोन्नतिको कामसँगै मुक्ति चोकमा ओभरपास निर्माणको तयारी भइरहेको छ भने अर्कोतिर तीव्र बसाइँसराइ, उद्योग–व्यवसायको विस्तार र क्षेत्रीय व्यापारिक केन्द्रका रूपमा बढ्दो प्रभावले बिर्तामोडको स्वरूप तीव्र गतिमा परिवर्तन हुँदै गएको छ।
यही परिवर्तनका बीच ओभरपासको प्रस्तावित डिजाइनले भविष्यको बिर्तामोडलाई सहज बनाउने कि बजारलाई दुई भागमा विभाजन गरेर दीर्घकालीन चुनौती सिर्जना गर्ने भन्ने विषय अहिले स्थानीय तह, व्यवसायी, प्राविधिक र नागरिकबीच बहसको विषय बनेको छ।
बिर्तामोडको मुक्ति चोकमा निर्माण गर्न लागिएको करिब ४९० मिटर लामो ओभरपास अहिलेको डिजाइनअनुसार निरन्तर पर्खाल (वाल) प्रणालीमा आधारित रहेको बताइन्छ। स्थानीय सरोकारवालाको भनाइमा यस्तो संरचनाले सडकका दुवैतर्फ रहेका बजारबीचको प्राकृतिक आवतजावतमा असर पुग्न सक्ने, पैदल यात्रु र ग्राहकको सहज पहुँच घट्न सक्ने तथा व्यापारिक गतिविधि असन्तुलित बन्न सक्ने चिन्ता बढाएको छ।
व्यवसायीहरूका अनुसार शनिश्चरे, अर्जुनधारा, बुद्धशान्ति क्षेत्रबाट आउने उपभोक्ता ओभरपासको उत्तरतर्फका बजारमै सीमित हुन सक्ने सम्भावना छ। त्यसैगरी हल्दीबारी, बाह्रदशी, गोलधाप, गारामुनी तथा दक्षिणी क्षेत्रबाट आउने उपभोक्ताले उत्तरतर्फ पुग्न थप दूरी र असहजता व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने उनीहरूको बुझाइ छ।
शहरी योजनाविद्हरू भने कुनै पनि पूर्वाधारको प्रभाव डिजाइन, पहुँच व्यवस्थापन, सेवा सडक, पैदलमार्ग, अन्डरपास तथा ट्राफिक व्यवस्थापनको समग्र योजनामा निर्भर रहने बताउँछन्। उनीहरूका अनुसार ओभरपास आफैं समस्या होइन, त्यससँग जोडिने पहुँच प्रणाली नै सफल वा असफल हुने मुख्य आधार हो।
बिर्तामोडको विशेषता भनेको यसको केन्द्रित बजार संरचना हो। मुक्ति चोक वरिपरि विकसित व्यापारिक गतिविधिले उत्तर र दक्षिण दुवैतर्फ समान रूपमा विस्तार पाएको छ। यदि ओभरपासले यी दुई भागबीचको सम्बन्ध कमजोर बनायो भने बजार विस्तारको प्राकृतिक लयमा प्रभाव पर्न सक्ने स्थानीयहरूको तर्क छ।
यसै सन्दर्भमा कतिपयले निरन्तर वाल प्रणालीको सट्टा पिल्लर (एलिभेटेड) संरचनामा आधारित डिजाइन उपयुक्त हुन सक्ने सुझाव दिएका छन्। पिल्लर प्रणालीले दृश्य सम्पर्क कायम राख्ने, स्थानीय सडकहरू सहज रूपमा जोड्न सकिने, बजारको खुलापन जोगिने तथा भविष्यमा आवश्यक परे थप पहुँच मार्ग निर्माण गर्न सहज हुने उनीहरूको तर्क छ। यद्यपि यस्तो विकल्प प्राविधिक, आर्थिक र वातावरणीय अध्ययनपछि मात्रै सम्भव हुने पूर्वाधार विज्ञहरू बताउँछन्।
दमकमा निर्माण भइरहेका तीनवटा ओभरपास र बिर्तामोडको एकल तथा लामो संरचनाबीच तुलना पनि भइरहेको छ। तर प्राविधिकहरूका अनुसार प्रत्येक स्थानको भौगोलिक अवस्था, ट्राफिक चाप, सडक चौडाइ, उपलब्ध जग्गा र लागत फरक हुने भएकाले प्रत्यक्ष तुलना उपयुक्त नहुन सक्छ।
यद्यपि बिर्तामोडको भविष्यलाई हेरेर अहिलेको पूर्वाधार निर्माण गरिनुपर्नेमा भने अधिकांश सरोकारवाला सहमत देखिन्छन्।
झापाको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको शहरी क्षेत्रका रूपमा बिर्तामोडलाई लिइन्छ। कृषि केन्द्रबाट सुरु भएको यो बजार अहिले स्वास्थ्य, शिक्षा, बैंकिङ, होटल, उद्योग, यातायात, सूचना प्रविधि र सेवा क्षेत्रको प्रमुख केन्द्र बनेको छ।
मेची भन्सार, काँकडभिट्टा नाका, भद्रपुर विमानस्थल, पूर्व–पश्चिम राजमार्ग तथा भारतसँगको व्यापारिक पहुँचका कारण बिर्तामोडको रणनीतिक महत्व अझ बढेको छ। सिक्किम, दार्जिलिङ, सिलिगुडी, बिहार तथा पूर्वी नेपालको व्यापारिक गतिविधिसँग समेत यसको प्रत्यक्ष सम्बन्ध रहेको व्यवसायीहरू बताउँछन्।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाका अनुसार बिर्तामोड क्षेत्रमा हाल करिब ७८ उद्योग सञ्चालनमा रहेका छन् भने एक सय २० भन्दा बढी उद्योग स्थापना प्रक्रियामा छन्। उद्योग, सेवा र व्यापारको निरन्तर विस्तारले आगामी वर्षहरूमा रोजगारी, लगानी र जनसङ्ख्या अझ तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।
स्थानीय तहका तथ्याङ्कअनुसार स्थायी जनसङ्ख्या करिब डेढ लाखको हाराहारीमा भए पनि दैनिक आवागमन, अध्ययन, उपचार, व्यापार तथा अस्थायी बसोबासका कारण बिर्तामोडमा रहने जनसङ्ख्या उल्लेख्य रूपमा बढी हुने अनुमान गरिएको छ।
शहरीकरणसँगै ट्राफिक व्यवस्थापन, पार्किङ, सार्वजनिक यातायात, ढल निकास, हरित क्षेत्र, पैदलमार्ग, खानेपानी, फोहोर व्यवस्थापन र खुला सार्वजनिक स्थलको आवश्यकता पनि उत्तिकै बढ्दै गएको छ।
कतिपय शहरी योजनाविद्हरूका अनुसार बिर्तामोडले अब सानो बजारको मानसिकताभन्दा बाहिर निस्केर आगामी ३० देखि ५० वर्षलाई आधार मानेर पूर्वाधार योजना बनाउन आवश्यक छ।
हाल सार्वजनिक बहसमा रहेको अर्को विषय स्थानीय तहको सम्भावित पुनःसंरचना पनि हो। राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको स्थानीय तहको संख्या घटाउने अवधारणापछि झापामा सम्भावित नयाँ प्रशासनिक संरचनाबारे विभिन्न अनुमान सार्वजनिक भइरहेका छन्।
कतिपय स्थानीय विश्लेषकले भविष्यमा बिर्तामोड, अर्जुनधारा, बुद्धशान्तिका केही भूभाग, कन्काईका केही वडा तथा आसपासका क्षेत्र समेटेर बिर्तामोड उपमहानगरपालिका बन्न सक्ने सम्भावना औँल्याएका छन्। यस्तै मेचीनगर, भद्रपुर, दमकलगायत क्षेत्रमा पनि विभिन्न सम्भावित मोडेलबारे छलफल भइरहेको छ।
तर यस्ता सबै अवधारणा राजनीतिक, कानुनी र संवैधानिक निर्णयसँग सम्बन्धित विषय भएकाले हालसम्म कुनै औपचारिक सरकारी निर्णय भने भएको छैन।
विज्ञहरूका अनुसार प्रशासनिक सीमा परिवर्तनभन्दा महत्वपूर्ण विषय भविष्यको जनसङ्ख्या, आर्थिक गतिविधि र पूर्वाधारको आवश्यकतालाई ध्यानमा राखेर योजना बनाउनु हो।
बिर्तामोडको आर्थिक सम्भावना हेर्दा यसलाई पूर्वी नेपालको प्रमुख लगानी गन्तव्यका रूपमा लिइन थालेको छ। आधुनिक अस्पताल, अन्तर्राष्ट्रियस्तरका विद्यालय, ठूला सपिङ कम्प्लेक्स, बैंक तथा वित्तीय संस्था, होटल उद्योग र औद्योगिक लगानी निरन्तर बढिरहेका छन्।
पर्यटन व्यवसायीहरूका अनुसार पाँचतारे होटलदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्मका सम्भावना पनि यस क्षेत्रमा विस्तार हुँदै गएका छन्। नजिकै रहेको चन्द्रगढी विमानस्थल, काँकडभिट्टा नाका, मेची भन्सार, नदीजन्य स्रोत र वन क्षेत्रले पनि आर्थिक सम्भावनालाई थप बल पुर्याएका छन्।
कतिपय व्यवसायीले चन्द्रगढी विमानस्थलको सेवा विस्तार, उडान संख्या वृद्धि तथा दीर्घकालमा सञ्चालन समय बढाउन सके बिर्तामोडको आर्थिक गतिविधिमा थप गति आउने विश्वास व्यक्त गरेका छन्।
यद्यपि अवसरसँगै चुनौती पनि उत्तिकै छन्। अनियन्त्रित शहरीकरण, अव्यवस्थित भवन निर्माण, पार्किङ अभाव, ट्राफिक जाम, फुटपाथ व्यवस्थापन, खुला क्षेत्रको कमी, वर्षायाममा डुबान, वातावरणीय प्रदूषण तथा दीर्घकालीन शहरी योजनाको अभाव अहिलेका प्रमुख समस्या हुन्।
यस्ता चुनौती समाधान नगरी ठूला पूर्वाधार निर्माण मात्र गर्दै जाँदा भविष्यमा थप जटिलता निम्तिन सक्ने शहरी विकासका जानकारहरूको भनाइ छ।
पूर्वाधार योजनामा स्थानीय व्यापार, पैदल यात्रु, सार्वजनिक यातायात, साइकल प्रयोगकर्ता, अपाङ्गतामैत्री पहुँच तथा भविष्यको शहरी विस्तारलाई समान रूपमा प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ।
बिर्तामोडको ओभरपास पनि यही दृष्टिकोणबाट पुनः मूल्याङ्कन गर्नुपर्ने आवाज उठ्न थालेको छ। यदि आवश्यक ठानिएमा डिजाइन पुनरावलोकन, अतिरिक्त अन्डरपास, सेवा सडक, पैदल क्रसिङ, खुला पहुँच तथा स्थानीय बजारसँगको समन्वयलाई थप प्रभावकारी बनाउन सकिने विज्ञहरू बताउँछन्।
पूर्वाधार निर्माण केवल वर्तमान ट्राफिक व्यवस्थापनका लागि मात्र नभई आगामी पुस्ताको आवश्यकता पूरा गर्ने दीर्घकालीन लगानी भएकाले भविष्यको शहर कस्तो बनाउने भन्ने दृष्टिकोण स्पष्ट हुन आवश्यक रहेको उनीहरूको धारणा छ।
बिर्तामोड अहिले केवल झापाको एउटा नगरपालिका मात्र होइन, पूर्वी नेपालको व्यापारिक, शैक्षिक, स्वास्थ्य तथा सेवा क्षेत्रको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यही कारण यसको विकास योजनाले आगामी दशकहरूको आर्थिक, सामाजिक र शहरी स्वरूप निर्धारण गर्ने देखिन्छ।
ओभरपास निर्माणको बहस पनि यही सन्दर्भमा महत्वपूर्ण बनेको छ। प्रश्न केवल एउटा पुलको होइन, भविष्यको बिर्तामोड कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोणको हो। विकासको गति कायम राख्दै बजारको जीवन्तता, आर्थिक अवसर र नागरिकको सहज आवागमनलाई सन्तुलित गर्न सकियो भने बिर्तामोड पूर्वी नेपालको मात्र होइन, देशकै एक प्रमुख आधुनिक शहरका रूपमा स्थापित हुन सक्ने सम्भावना बलियो देखिन्छ।



