cURL Error: 0 नेपाल खेलकुद महासङ्घको केन्द्रीय बैठक सम्पन्न, विभिन्न विभाग गठन तथा कार्यदिशा अनुमोदन - पूर्व खबर

नेपाल खेलकुद महासङ्घको केन्द्रीय बैठक सम्पन्न, विभिन्न विभाग गठन तथा कार्यदिशा अनुमोदन

 

सरस्वती मिस्र,काठमाडौँ, साउन १४ (पुर्व खबर): नेपाल खेलकुद महासङ्घको प्रथम केन्द्रीय पदाधिकारी बैठकले महासङ्घको भावी कार्यदिशा सर्वसम्मत रूपमा अनुमोदन गर्दै विभिन्न विभाग गठनसहित संगठनलाई सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ महत्त्वपूर्ण निर्णय गरेको छ।
हालै सम्पन्न महासङ्घको ऐतिहासिक राष्ट्रिय भेलाबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित दिपेन्द्र प्रसाद दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको पहिलो पदाधिकारी बैठकले संगठन विस्तार, विभागीय जिम्मेवारी बाँडफाँट तथा आगामी कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो। यसअघि अध्यक्ष रहेका परशुराम बस्नेतले पदबाट बिदा लिएपछि दाहालको नेतृत्वमा पहिलो औपचारिक बैठक सम्पन्न भएको हो।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराई प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य एवं महासङ्घका इन्चार्ज दिपक कार्की विशेष अतिथिका रूपमा सहभागी भएका थिए। बैठकमा महासङ्घको वर्तमान अवस्था, खेलकुद क्षेत्रको विकास, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको जनाइएको छ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको महासङ्घको कार्यदिशा, उद्देश्य र आगामी रणनीतिलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। अनुमोदित कार्यदिशाअनुसार देशव्यापी संगठन विस्तार, खेलकुद क्षेत्रमा सक्रिय युवाको सहभागिता वृद्धि, खेलाडीको क्षमता अभिवृद्धि, खेलकुदसँग सम्बन्धित विभिन्न संघसंस्थासँग समन्वय तथा स्थानीयदेखि राष्ट्रिय तहसम्म खेलकुद गतिविधि विस्तार गर्ने लक्ष्य तय गरिएको महासङ्घले जनाएको छ।
बैठकले संगठनलाई थप व्यवस्थित र परिणाममुखी बनाउन विभिन्न विभाग गठन गरेको छ। सार्वजनिक गरिएको विभागीय जिम्मेवारीअनुसार कार्यालय, प्रचार, आर्थिक, महिला तथा विदेश विभाग गठन गरिएको छ। आवश्यकताअनुसार अन्य विभागसमेत क्रमशः विस्तार गरिने निर्णय भएको महासङ्घले जनाएको छ।
बैठकबाट प्रचार विभागको प्रमुखमा विष्णु पुन, उपप्रमुखमा युवराज शाही र रोबिन पोखरेल तथा सचिवमा राजकुमार ओलीलाई जिम्मेवारी दिइएको छ। विभागका सदस्यमा विकल पौडेल, शिवराज सुवेदी र विवेक परियार रहेका छन्।
त्यसैगरी कार्यालय विभागको प्रमुखमा रामगोपाल भिमिरे तथा सदस्यमा सुनिता तामाङलाई जिम्मेवारी दिइएको छ। आर्थिक विभागको प्रमुखमा जेनेन्द्र वीर शाही र उपप्रमुखमा केशव ओली चयन भएका छन्।
महिला विभागको प्रमुखमा नन्दा बराल, उपप्रमुखमा कल्पना आचार्य र बुन्टा देवान, सचिवमा निलम बजगाई तथा सदस्यमा भिमकुमारी भुपाल र दिपा वन चयन भएका छन्।
यसैगरी महासङ्घको केन्द्रीय पदाधिकारीतर्फ उपाध्यक्षमा केशव ओली तथा सचिवमा रितन पोखरेल चयन भएका छन्। विभागीय संरचनालाई प्रभावकारी बनाउँदै आवश्यकताअनुसार थप जिम्मेवारी बाँडफाँट गरिने महासङ्घले जनाएको छ।
बैठकमा सहभागी वक्ताहरूले खेलकुदलाई स्वस्थ समाज निर्माणको आधारका रूपमा स्थापित गर्न महासङ्घले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले खेलाडीको हकहित संरक्षण, खेल पूर्वाधार विकास, स्थानीय तहसँग सहकार्य तथा नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
अध्यक्ष दाहालले महासङ्घलाई राष्ट्रियस्तरमा क्रियाशील, जिम्मेवार र परिणाममुखी संगठनका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलकुद क्षेत्रका सबै पक्षसँग सहकार्य गर्दै संगठनलाई जनस्तरसम्म विस्तार गरिने बताए।
बैठकको समापन गर्दै अध्यक्ष दाहालले प्रमुख अतिथि विशाल भट्टराई, विशेष अतिथि दिपक कार्की तथा उपस्थित सम्पूर्ण केन्द्रीय पदाधिकारीप्रति आभार व्यक्त गरे। बैठकले पारित गरेका निर्णय कार्यान्वयनका लागि सम्बन्धित विभागलाई आवश्यक जिम्मेवारी प्रदान गर्दै आगामी दिनमा नियमित बैठक, संगठन विस्तार अभियान तथा खेलकुद प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *