cURL Error: 0 बिर्तामोडमा आगलागीबाट ३ सुकुम्बासी परिवारका घर नष्ट - पूर्व खबर

बिर्तामोडमा आगलागीबाट ३ सुकुम्बासी परिवारका घर नष्ट

 

झापा, साउन १४ (बाटिका अनलाइन): झापाको बिर्तामोड नगरपालिका–५ स्थित पुरानो भद्रपुर रोडछेउ सतानुपैनी क्षेत्रमा आज बिहान आगलागी हुँदा तीन सुकुम्बासी परिवारका घर जलेर नष्ट भएका छन्।
आज बिहान ४ः१० बजे गणेश पोख्रेल, तारा अर्याल र सुन्दर राजवंशीका काठबाट निर्मित टाँडे घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ सुरक्षा निकाय, स्थानीय तह र स्थानीयवासी उद्धार तथा आगो नियन्त्रणमा खटिएका थिए। सशस्त्र प्रहरी बलको सुरक्षा बेस शनिश्चरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोभितबहादुर श्रेष्ठको नेतृत्वमा ११ जना, इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक लोकबहादुर दियालीको नेतृत्वमा १० जना तथा नेपाली सेनाको श्री अरिदमन गण चारआलीबाट सेनानी किशोरकुमार खड्काको नेतृत्वमा २५ जना सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।
त्यसैगरी बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका तीन वटा दमकल तथा स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो। करिब एक घण्टा ३५ मिनेटको प्रयासपछि बिहान ५ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट तीनवटै घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनामा मानवीय क्षति नभएको जनाइएको छ। यद्यपि घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, फर्निचर तथा अन्य सरसामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *