cURL Error: 0 प्रहरीको उच्च टोली तराईका जिल्लामा परिचालित, कोशी प्रदेशमा एआईजी कार्की र मोरङमा एसएसपी फुयाँल खटिए - पूर्व खबर

प्रहरीको उच्च टोली तराईका जिल्लामा परिचालित, कोशी प्रदेशमा एआईजी कार्की र मोरङमा एसएसपी फुयाँल खटिए

विराटनगर, साउन १५ : तराई–मधेशका जिल्लामा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले उच्च तहका अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। सोही क्रममा कोशी प्रदेशअन्तर्गत मोरङमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँल खटिएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन एआईजीदेखि एसएसपी तहसम्मका अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरिएको हो।
उनीहरूले सम्बन्धित क्षेत्रमा प्रहरी जनशक्ति तथा स्रोत–साधन परिचालनको प्रभावकारिता मूल्याङ्कन गर्ने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना सङ्कलन तथा विश्लेषण गर्ने, आवश्यकताअनुसार फिल्डमै खटिएर प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय र सहजीकरण गर्ने जिम्मेवारी पाएका छन्।
प्रवक्ता काफ्लेका अनुसार परिचालित टोलीले स्थानीय सुरक्षा अवस्थाको निरन्तर अनुगमन गर्दै सम्भावित समस्या तथा गुनासोको सुनुवाइ गर्ने, कुनै पनि परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिने र अवस्थालाई शीघ्र सामान्य बनाउन आवश्यक कदम चाल्नेछ। उनीहरूले आवश्यक विवरण प्रहरी महानिरीक्षकसमक्ष नियमित रूपमा प्रतिवेदनसमेत पेश गर्नेछन्।
नेपाल प्रहरीले पछिल्लो समय तराई–मधेशका केही जिल्लामा देखिएको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै उच्च तहका अधिकृतलाई प्रत्यक्ष फिल्डमा परिचालन गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *